चीनका राष्ट्रपति सी जिनपिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने तय भएको छ । नेपाल र चीनबीच कूटनीतिक च्यानलमार्फत भएका छलफलमा राष्ट्रपति सी दुई दिनका लागि नेपाल आउने भएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा २४ असोजमा भारत जान लागेका सी त्यहाँको भ्रमण सकेर फर्कने क्रममा नेपाल आउनेछन् । उनी एक रात काठमाडौं बसेर बेइजिङ फर्किने कार्यतालिका तयार भएको छ । तर, दुवै पक्षले अहिलेसम्म मिति भने खुलाएका छैनन् । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराईले नयाँ पत्रिकासँग भने, ‘चिनियाँ राष्ट्रपति आउने पक्का हो, मिति तय हुन बाँकी छ । तय भएपछि औपचारिक तयारी थाल्छौँ ।’
सीको भ्रमणका क्रममा केरुङ–काठमाडौं रेल निर्माणसम्बन्धी घोषणा गर्न नेपालले चीनसँग प्रस्ताव गरिसकेको छ । उच्च स्रोतका अनुसार यसबारे दुई मोडलमा छलफल भइरहेको छ । पहिलो, चीनले रेलमार्ग निर्माणको घोषणा गरिदिनुपर्ने र दोस्रो, नेपालले सांकेतिक रूपमा १० प्रतिशत सफ्ट लोन लिने तथा ९० प्रतिशत रकम चीनले अनुदानमा दिनुपर्ने प्रस्ताव छ । रेलमार्गको सम्भाव्यता अध्ययनका लागि नेपाल र चीनका रेलवे अधिकारीबीच वार्ता भइरहेको छ । सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गर्न आवश्यक लगानी चीनले नै गरिदेओस् भन्ने नेपालको चाहना व्यक्त भइसकेको छ । यसमा चीनसँग सहमति भइसकेको छैन । चीनले बराबरी रकममा अध्ययन गर्न प्रस्ताव गरेको छ । ‘डिपिआरको फाइनान्सिङ मोडालिटी ९लगानी ढाँचा० टुंग्याउने र चिनियाँ सहयोगमा रेलमार्ग निर्माणको घोषणा यसपटक हुन सक्छ, कुराकानी भइरहेको छ,’ जानकार नेपाली अधिकारीले भने ।
परराष्ट्र मामिलाविद् डा। दिनेश भट्टराईले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनका राष्ट्रपतिको भ्रमणलाई देशको उच्चतम हितमा सदुपयोग गर्नुपर्ने बताए । ‘झन्डै एक पुस्तापछिको यो भ्रमण हाम्रा लागि महत्वपूर्ण छ,’ भट्टराईले भने, ‘यो ठूलो अवसरलाई हामीले आफूलाई बचाएर, सम्मान कायम गरेर दीर्घकालीन हितमा फाइदा लिन सक्नुपर्छ ।’ भ्रमणले नेपाल र चीनबीच उच्चस्तरीय राजनीतिक सम्पर्क बढ्ने, नेपालको महत्व स्थापित हुने र नेपाललाई पनि फाइदा तुल्याउने उनले बताए ।
चीनबाट राष्ट्रपतिस्तरको नेपाल भ्रमण २३ वर्षपछि हुन लागेको हो । सी नेपाल आउने तेस्रो चिनियाँ राष्ट्रपति हुनेछन् । चीनका तत्कालीन राष्ट्रपति जियाङ जमिनले १९ र २० मंसिर ०५३ मा नेपालको राजकीय भ्रमण गरेका थिए । उनीपछिका राष्ट्रपति हु जिन्ताओले नेपाल भ्रमण गरेनन् । ६–१० चैत ०४० मा राष्ट्रपति ली सियान्नियानले नेपाल भ्रमण गरेका थिए । उनीपछि ०५३ मा जियाङ जमिनले नेपाल भ्रमण गरेका थिए । यो समाचार नयाँपत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन् ।

Comments

comments