धादिङ । नेपालीको महान पर्व दशैँ र तिहारको समयमा अत्यधिक सवारी चापलाई ध्यानमा राखेर नौबिसे–नागढुङ्गा सडकलाई ‘नो ओभरटेक जोन’ घोषणा गरिएको छ । नौबिसेदेखि खानीखोला–खत्रीपौवा–सिक्रेखोलादेखि नागढुङ्गासम्मको झण्डै १५ किलोमिटर राजमार्ग उकालो, साँघुरो र धेरै मोड भएकोले चालकलाई लेन अनुशासन मान्न कडाइ गरिएको हो ।
उकालो र मोडमा मालवाहक साधन ढिलो गुड्ने र जाम भएको बेला पनि साना सवारीसाधनले ओभरटेक गरेर उल्टै थप जाम गर्ने भएपछि यो १५ किमी सडक क्षेत्रलाई पहिलोपटक ‘नो ओभरटेक जोन’ घोषणा गरिएको हो । जिल्ला प्रशासन कार्यालय धादिङ, जनपद र ट्राफिक प्रहरीको संयुक्त आयोजनामा धुनीबेँसी नगरपालिकामा गरिएको सरोकारवालाको अन्तत्र्रिmयामा दशैँ, तिहार लगायतका पर्वमा सवारी जाम हुन नदिन विभिन्न उपाय अपनाइने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी आसमान तामाङको अध्यक्षतामा खानीखोलामा बसेको सरोकारवालाको बैठकले सवारी जाम हुन नदिन विभिन्न १५ वटा निर्णय गरेको छ । जिल्ला प्रहरी प्रमुख राजकुमार बैदवारका अनुसार, दशैँ अगावै राजधानी आउने दैनिक उपभोग्य वस्तु र दशैँ मान्न बाहिरिने दैनिक १५ देखि १८ हजार सवारीसाधनलाई यातायात व्यवस्थापन गर्न यातायात व्यवसायी जिम्मेवार हुनुपर्छ ।
खानीखोलादेखि मौवाखोलासम्म जाम हुन नदिन मालवाहक सवारीसाधन प्रवेशमा तत्काल रोक लगाइने भएको छ । पर्वको बेला अत्यधिक सवारी चाप रहने दशैँ अगाडिका एक हप्तासम्म यातायात व्यवस्था विभागमार्फत रोक लगाइने प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा मुरारी अधिकारीले लेखेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।