सिन्धुली । जिल्लाको मरिण गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । यहीं शैक्षिकसत्रबाट लागु हुनेगरि गाउँपालिकाले कक्षा १ देखि ५ सम्मका लागि पाठ्यक्रम निर्माण गरिएको हो ।
सो पाठ्यक्रम एक कार्यक्रमका बीच सोमबार प्रदेश सभा सदस्य सांसद बसन्त माझीले सार्वजनिक गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशिक सांसद माझीले स्थानीय पाठ्यक्रमबाट बालबालिकाले कला, सम्पदा, संस्कृति, भूगोललगायत विविध विषयमा जानकारी लिनसक्ने बताए । ‘बालबालिकालाई स्थानीय विषयमा जानकारी दिने पाठ्यक्रमले स्थानीय कला, सीप, संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकासमा अत्यन्त प्रभावकारी हुनेछ ।’ सांसद माझीले भने ।

यसैगरि कार्यक्रममा मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जनले पहिलो गाउँसभाले पारित गरेको स्थानीय तहको पाठ्यक्रम निर्माण कार्यले सफलता प्राप्त गरेको बताए । पाठ्यक्रम निर्माणमा सहयोग पुर्याउने नेपाल रेडक्रस सोसाईटी सिन्धुली, स्थानीय पाठ्यक्रम निर्माण समिति, प्लान इन्टरनेस नेपाल, पाठ्यक्रम निर्माण बिज्ञ, शिक्षक, अभिभाबक लगायत सबैलाई अध्यक्ष बम्जनले धन्यवाद दिए ।
‘बालबालिकालाई स्थानीय ज्ञान, सीप र प्रबिधिबारे जानकारी दिदै आत्मनिर्भर हुन र जीबिकोपार्जनमा समेत पाठ्यक्रमले सहयोग पुर्याउने मैले अपेक्षा गरेको छु ।’ अध्यक्ष बम्जनले भने ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका अध्यक्ष असोक श्रेष्ठले स्थानीय तहको पाठ्यक्रम निर्माण गर्ने सन्दर्भमा मरिण गाउँपालिका सिन्धुलीमै पहिलो भएको बताए ।

Comments

comments