सिन्धुली । सिन्धुलीको सुनकोशी गाउपालिका –५ मुल्कोटमा अत्याधुनिक प्रविधिसहितको शीतभण्डार बन्ने भएको छ।
प्रदेश तीन सरकारको ५ करोड ३० लाख रुपैयाँ, सुनकोशी गाउँपालिकाको २ करोड र मुकुटेश्वरी बहुउदेश्यीय कृषि सहकारी संस्थाको १० प्रतिशत लागतमा शीतभण्डार निर्माण हुन लागेको हो। दुई तले शितभण्डार निर्माणको जिम्मा इजी निर्माण सेवाले पाएको छ।
सोमवारबाट नै निर्माण सुरु भएको शितभण्डार अबको ११ महिनामा सम्पन्न गरी सक्ने गरी इजी निर्माण सेवासँग सम्झौता भएको मुकुटेश्वरी बहुउदेश्य कृषि सहकारी संस्थाका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए। शितभण्डारको सिलान्यास गर्दै पूर्व मन्त्री तथा सांसद सीपी गजुरेलले सुनकोशीका कृषकहरुलाई उत्पादनमा जोड्न एउटा आधार बनेको बताए।
कृषकले उत्पादन गरेका बस्तुहरुलाई केही समय शितभण्डारमा राखेर बजार भाउ राम्रो आउने समयमा बेच्ने वातावरण बनाउन प्रदेश सरकार र स्थानिय सरकारले गरेको प्रयास सकारात्मक भएको उनले बताए। सुनकोशी गाँउपालीका –२ को कमेरेमा सुरु भएको सहकारीमा आधारित सामूहीक माछापालन कार्यक्रम सोचे जसरी सफल नभएको प्रति असन्तुष्टि जनाउदै सांसद गजुरेलले निर्माण सुरु भएको शीतभण्डारलाई भने पुर्ण प्रयोगमा ल्याउने वातावरण सिर्जना गर्न स्थानिय सरकारलाई आग्रह गरे।
सिन्धुली सदरमुकाममा केही बर्ष अघि जापान सरकारको सहयोगमा जुनार शितभण्डार निर्माण भएको छ। तर त्यो अहिले प्रयोगविहिन भएर बसेको छ। सांसद गजुरेलले सुनकोशीमा बन्न लागेको शीतभण्डार सदरमुकाममा रहेको जुनार शितभण्डार जसरी प्रयोगविहीन नबनाउन सरोकारवालाहरुलाई सजग गराएका छन्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















