दसैँ–तिहारको समयमा यात्रुलाई दुस्ख दिए सुर्खेत जिल्ला प्रशासन कार्यालयले सार्वजनिक मुद्दा लगाउने भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार, यात्रुलाई यात्रामा दुःख दिने, सहज यात्रा गर्न नदिने गरिएको पाइए सार्वजनिक मुद्दा लगाइनेछ । यसको लागि तयारी गरिएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए । ‘यात्रामा हिँडेका कसैलाई पनि दुःख दिन पाइँदैन । यात्रु तान्ने र दुःख दिने काम गरेको पाइएमा कारबाही गरिनेछ,’ प्रजिअ अधिकारीले भने ।
त्यस्तै, यात्रुबाट बढी भाडा लिने, नक्कली टिकट बिक्री गर्ने, यात्रुसँग अभद्र व्यवहार गरेको पाइएमा पनि कारबाही गरिने भएको छ । ‘गन्तव्य जान बसपार्क पुगेका यात्रुलाई अभद्र व्यवहार गरे, नक्कली टिकट बिक्री गरे, दुस्ख दिए सार्वजनिक मुद्दा लगाउँछौँ,’ प्रजिअ अधिकारीले भने ।
यसका लागि यात्रुलाई सहयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय, सुर्खेतले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । दसैँ र तिहारमा यात्रुका गुनासोलाई हेर्नेगरी वीरेन्द्रनगर बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । चाडपर्वमा यात्रुका गुनासो सुन्ने उद्देश्यले कक्ष सञ्चालनमा ल्याएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख उदयसिंह सिँजापतिले बताए । ‘चाडबाडमा यात्रुको चाप बढी हुने र ठगिन नपाऊन् भनेर सहायता कक्ष सञ्चालनमा ल्याएका छौँ,’ सिँजापतिले भने ।
चाडपर्वका वेला सवारीसाधनले यात्रीबाट बढी बोक्ने र तीव्र गतिमा सवारीसाधन चलाउँदा दुर्घटना हुने सम्भावना धेरै भएकाले सवारीचालक तथा धनीलाई सचेत गराइने जनाएको छ । सहायता कक्षमार्फत चालकलाई सचेत गराइने उनले बताए । यो समाचार नयाँपत्रिका दैनिकमा रमेश रावलले लेखेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















