सिन्धुपाल्चोक । सिन्धु पाँचपोखरी यातायात प्रा.लि.ले शुक्रबारदेखि हाईस माइक्रो बस सञ्चालनमा ल्याएको छ । जिल्लाको सदरमुकाम चौतारामा चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख अमान सिं तामाङले उद्घाटन गरेसँगै माइक्रो बस सञ्चालनमा आएको हो । उक्त यातायात सेवाको विधिवत् उद्घाटनसँगै वर्षौंदेखि लगाउँदै आएको अरनिको यातायातको सिन्डिकेट तोडिएको छ ।
नगर प्रमुख तामाङले उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राम्रो सेवा सुविधा दिँदै सम्पुर्ण यात्रुहरुको मन जित्न सक्नेमा आफू विश्वस्त रहेको बताए । साथै उनले यातायात सफलताको शुभकामना समेत दिए ।
‘एसी सहितको हाईस माईक्रो बस भएकोले अबको दिनमा यात्रुहरुले सहज र सुविधायुक्त तरिकाले यात्रा गर्न पाउनेमा ढुक्क छु । सफलताको शुभाकामना दिन चाहन्छु ।’ तामाङले भने ।
उक्त यातायात सेवा चौतारा टुँडीखेलबाट काठमाण्डौको कोटेश्वर हुँदै चावहीलसम्म र पुनः सोही रुटबाट फिर्ता हुने प्रालिका अध्यक्ष खिलबहादुर श्रेष्ठले जानकारी दिए । अन्य यातायात सेवाले दिएको सेवा भन्दा आरामदायी, सस्तोमा सहज यात्रा गर्न सकिने श्रेष्ठको दाबी छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।