काभ्रे । काभ्रेमा नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोराम बीचको पार्टी एकता पक्रिया सम्पन्न भएको छ । केन्द्रमा दुई पार्टीहरु बीचमा एकता भई समाजवादी पार्टी निर्माण भएपछि आज (शनिबार) काभ्रेमा एकता सम्पन्न भएको हो ।
समाजवादी पार्टी काभ्रेको अध्यक्षमा कृष्ण भण्डारी (शिशिर) चयन भएका छन् । भण्डारीको नेतृत्वमा ९९ जनाको जिल्ला समिति बनेको छ । एकीकृत पार्टीको उपाध्यक्षहरुमा बीरबहादुर तामाङ, रामहरि खनाल, मिलन लामा, सचिवमा रकम लामा, कोषाध्यक्षमा सजनी तामाङ, सह–सचिवमा राजिव लामा चयन भएका छन् ।

नव नियुक्त अध्यक्ष भण्डारी माओवादी जनयुद्धको एक कुशाल नेताको रुपमा चिनिन्थ्यो । उनी पटक पटक गरि करिब ५ वर्ष जेल समेत बसेका थिए । उनलाई जनयुद्धको बेला अब्बल योजनाकारको रुपमा पार्टीले लिने गरिन्थ्यो । आन्दोलन, संगठन र अन्तरसंघर्षमा समेत पहलकदमी लिई असल संगठकको रुपमा उनलाई चिनिन्छ । प्रतिनिधि सभाको निर्वाचनमा भण्डारी नयाँ शक्ति पार्टीको तर्फबाट उम्मेदवारमा समेत उठेका थिए ।

एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका समाजवादी पार्टीका नेता तथा सांसद राजेन्द्र श्रेष्ठले समाजवादी हुनलाई समाजलाई महत्व दिनुपर्नेमा जोड दिए । आफूहरुले जातिय राज्य कहिल्यै नमागेको बरु संघीय राज्य मागेको श्रेष्ठले स्पष्ट पारे । ‘हामीले जातीय राज्य मागेकै होइन । तर कतिपय हाम्रो साथीहरु समेत भ्रममा परेको मैले देखेको छु ।’ उनले भने, ‘हामीले मागेको संघीय राज्य हो ।’
कार्यक्रममा पार्टीका विभिन्न तहका नेताहरु, कार्यकर्ताहरुको साहभागीता रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















