काभ्रे । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टलाई सिध्याउने चेतावनी दिएका छन् । नेपाल शिक्षक संघ काभ्रेले आज (आइतबार) बनेपामा आयोजना गरिएको चियापान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले उक्त चेतावनी दिएका हुन् ।
‘कम्युनिष्टहरुलाई कहिल्यै सत्तामा आउन नसक्ने गरी सिध्याउन सक्छौं हामी ।’ उनले भने, ‘कांग्रेसले राणा शासन, पञ्चायत र राजतन्त्र सिध्याएकोले कम्युनिष्ट पनि सिध्याउन सक्छौं ।’
सभापति देउवाले नेपालको कम्युनिष्टहरुको विचार नै नभएको जिकिर गरे । ‘नेपालको कम्युनिष्ट पार्टीमा विचार नै छैन ।’ उनले भने, ‘कहिले लेनिन, कहिले माओत्सेतुङ हुँदै अहिले सिजिनपिङको विचारमा हिँडिरहेका छन् ।’
देउवाले वर्तमान दुई तिहाईको कम्युनिष्ट सरकारले जनतालाई दुःख मात्र दिएको बताउँदै जनतालाई अनावश्यक कर थोपारेर दुःख दिएको उनले आरोप लगाए । देउवाले झगडा नगर्ने पार्टी बनाउन आग्रह गर्दै कांग्रेस आपसमा लड्ने पार्टी नभई लोकतन्त्रका लागि लड्ने पार्टी भएको स्पष्ट पारे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।