काठमाडौँ । एक्काइस वर्षीय सुमन केसीको चार वर्षअघि मनमोहन कार्डियोथेरासिस, भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा हृदयाघात भएपछि शल्यक्रिया भयो । उहाँलाई हृदयाघात के हो भन्ने थाहै थिएन । अहिले सुमन निरन्तर चिकित्सकको निगरानीमा हुनुहुन्छ । डा। भगवान् कोइराला नेतृत्वको टोलीले केसीको शल्यक्रिया गरेको थियो ।
यस्तै सिन्धुपाल्चोकका २६ वर्षीय विजय पौडेलको पनि दुई वर्षपहिले हृदयाघातका कारण शल्यक्रिया गर्नु परेको थियो । उहाँ पनि समयसमयमा चिकित्सकको फलोअपमा हुनुहुन्छ । युवापुस्तामै मुटुसम्बन्धी रोगले सताएका यी दुई प्रतिनिधि पात्र मात्र हुन् । धेरै युवा हिजोआज मुटुसम्बन्धी रोगका कारण पीडित हुने गरेका छन् ।
मुख्यतया २० देखि ४० वर्ष उमेर समूहका युवापुस्तालाई मुटुरोगले आक्रान्त पारिरहेको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा। ओममूर्ति अनिलले अव्यवस्थित जीवनशैलीका कारण युवापुस्ता मुटुरोगको चपेटामा परेको बताउनुभयो । डा। अनिलको नेतृत्वमा केही वर्ष पहिले स्वास्थ्य मन्त्रालय र हार्ट क्लिनिकले संयुक्त रूपमा गरेको सर्वेक्षणमा समेत २५ प्रतिशत युवामा कुनै न कुनै किसिमको मुटुसम्बन्धी रोग रहेको पाइएको थियो ।
मुटुरोगसम्बन्धी जनचेतना नभएका कारण मानिसहरू मुटुरोगको सिकार हुने गरेको भन्दै पछिल्लो समय आफ्नो स्वास्थ्यबारे केही चेतना भने आएको चिकित्सकहरूको भनाइ छ । पहिले–पहिले बिरामीहरू औषधिसमेत खान मान्दैनथे भन्दै डा। अनिलले थप्नुभयो, अहिले बिरामीमा रोगसम्बन्धी जनचेतना भएकाले उपचारमा सजिलो भएको छ । ” खानपान र जीवनशैलीका कारण मुटुरोगीको सङ्ख्या वृद्धि भइरहेको भन्दै डा। अनिलले युवापुस्तामा मुटुरोग बढिरहेकाले पछि समस्या निम्तनसक्ने बताउनुभयो ।
वरिष्ठ मुटुरोग सर्जन डा। अनिल भट्टराईले आफूले वार्षिक चार–पाँचजना २० देखि २५ उमेर समूहका युवाको शल्यक्रिया गर्ने गरेको अनुभव सुनाउनुभयो । उहाँले मुटुरोग घट्नेभन्दा पनि बढिरहेको आफूले पाएको बताउँदै युवापुस्ताले खानपान र जीवनशैलीमा परिवर्तन गर्नुपर्ने बताउनुभयो । डा। भट्टराईले खासमा ४० वर्षदेखि ६० वर्षको बीचको व्यक्तिलाई मुटुरोग धेरै हुने सम्भावना रहेको तर २० देखि ४० वर्षसम्मै मुटुरोग देखिनु खानपानका कारणले भएको बताउनुभयो ।
उहाँले २० देखि ४० वर्षमै मानिसहरूले आफ्नो जीवनशैली परिवर्तन गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले ४० वर्षमाथि नियमित रूपमा मुटुको परीक्षण गराइरहनुपर्ने भन्दै शरीरमा सुगर एक सयभन्दा कम, रक्तचाप १२०÷८०, कोलस्ट्रोल एक सय मिलिग्रामसम्म हुनुपर्ने बताउनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा नारायण काफ्लेले लेखेका छन् ।