काठमाडौं । सरकारले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका व्यक्तिका हकवालाहरुलाई स्थानीय तहबाटै आर्थिक सहायता प्रदान गर्ने भएको छ।
यसभन्दा अगाडि आर्थिक सहायताका लागि काठमाडौंस्थित वैदेशिक रोजगार बोर्डमै धाउनुपर्ने अवस्थाको अव अन्त्य हुने भएको छ।
मृतकका हकवालाको बैंक खाता बोर्डमा प्राप्त भएपछि बोर्डले उक्त खातामा रकम जम्मा गरिदिने र स्थानीय तहको रोहवरमा उक्त रकम मृतक परिवारलाई प्रदान गरिने बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले नेपाल लाइभलाई जानकारी दिए।
वैदेशिक रोजगार नियमावलीअनुसार वैदेशिक रोजगारमा गएका कामदारहरुको करार अवधि भित्र वा करार अवधि सकिएको एकवर्ष भित्र कुनै कारणले मृत्यु भएमा मृत्यु भएको मितिको एक वर्षभित्र आर्थिक सहायताका लागि वैदेशिक रोजगार बोर्डको सचिवालयमा निवेदन दिएमा मृतकका हकवालाले ७ लाख रुपैयाँ पाउने व्यवस्था छ।
आर्थिक सहायताका आवश्यक कागजातहरुः
-
राहदानीमा गन्तव्य मुलुकमा पुगेको प्रमाणित हुने छाप भएको पृष्ठ र राहदानी बाहकको राहदानी नम्बर, नाम र फोटो भएको पृष्ठको प्रतिलिपि।
-
विदेशस्थित रोजगारदाता कम्पनी, नियोग र अस्पतालको मृत्युको प्रमाण र शव ल्याउँदाको प्रज्ञापनपत्रको प्रतिलिपि।
-
नेपालमा मृत्यु भएकाको हकमा निज वैदेशिक रोजगारीबाट फर्केको आगमनको छाप लागेको पृष्ठको प्रतिलिपि।
-
स्थानीय तहले गरेको मृत्युदर्ताको प्रमाणपत्रको प्रतिलिपि।
-
हकवालाको नागरिकता, नाता प्रमाणित र अविवाहित भएकाको हकमा स्थानीय तहबाट आविवाहिताको सिफारिस पत्र।
-
स्थानीय तहबाट खुलेको फोटो र बैंकको नाम, शाखा र बैंक खाता नम्बर रुजु सहितको बैंकको पत्र।
-
नजिकको हकवालाको पासपोर्ट साइजको एक प्रति फोटो।
माथि उल्लेखित ७ प्रकारका प्रमाणित कागजात संलग्न गरी सम्बन्धित नगरपालिका र गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट सिफारिस भएको हुनुपर्ने व्यवस्था गरिएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















