अवैध रूपमा असुलेको रकम फिर्ता गर्नुको सट्टा ठगीलाई निरन्तरता दिएपछि गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्यालविरुद्ध विद्यार्थीले पुनः उजुरी दिने तयारी गरेका छन् । गत फागुनमा विद्यार्थीको उजुरीपछि प्रहरीले सञ्चालकविरुद्ध ठगी मुद्दा चलाएको थियो । तर, सामान्य धरौटीमा छुटेका अर्यालले फेरि ठगी सुरु गरेपछि विद्यार्थी एक महिनायता आन्दोलनमा छन् ।
‘आन्दोलनरत विद्यार्थीले मेडिकल कलेजको ठगीबारे जानकारी दिएका छन्,’ कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले नयाँ पत्रिकासँग भने, ‘अब ठगी मुद्दामा जाहेरी दिने विद्यार्थीको तयारी छ ।’
गृह मन्त्रालयले ठगी गरेको रकम एक महिनाभित्र फिर्ता गर्न अल्टिमेटम दिइसकेको छ । रकम फिर्ता नगरे ठगी मुद्दामा कारबाही चलाउने गृहको निर्णय छ । त्यस्तै, शिक्षा मन्त्रालयले गण्डकी मेडिकल कलेजको नामै तोकेर अतिरिक्त शुल्क फिर्ता गराउन प्रशासनलाई पत्राचार गरिसकेको छ । पैसा फिर्ता नगरे कलेजमाथि कारबाही र सञ्चालकविरुद्ध ठगी मुद्दा चलाउनुको विकल्प नभएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए ।
त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय सतर्कता केन्द्रले छुट्टाछुट्टै अनुगमन तथा अनुसन्धान गर्दा विद्यार्थी ठग्ने मेडिकल कलेजमा पहिलो नम्बरमा गण्डकी मेडिकल कलेज नै देखिएको छ । पछिल्लो तीन वर्षमा मात्रै उसले ४३ करोड चार लाख ९० हजार ठगेको भेटिएको हो । त्रिविले डेढ वर्षअघि अनुगमन गरेकोमा प्रधानमन्त्री कार्यालयको निर्देशनमा केही समयअघि राष्ट्रिय सतर्कता केन्द्रले पनि अनुसन्धान गरेको थियो ।
सतर्कता केन्द्रको अनुसन्धानअनुसार गण्डकीले सन् २०१५र१६ को ब्याचसँग विभिन्न शीर्षकमा १३ हजार ३५ लाख अतिरिक्त शुल्क उठाएको छ । सन् २०१६र१७ को ब्याचका एक सय १० विद्यार्थीसँग कुल १३ करोड ८९ लाख ३० हजार अवैध रूपमा असुलेको छ । त्यस्तै २०१७र१८ को ब्याचसँग १५ करोड ८७ लाख ६० हजार बढी उठाएको छ ।
सरकारले तोकेको मापदण्डविपरीत वार्षिक शुल्क तीन लाख, सुरक्षणम् शुल्क ५० हजार, इन्टर्नसिप शुल्क एक लाख ९२ हजार, त्रिवि रजिस्ट्रेशन शुल्क पाँच सय, परीक्षा शुल्क १२ हजार पाँच सय, एनएमसी दर्ता शुल्क चार हजार, भर्ना फारम पाँच हजार लिँदै आएको अनुसन्धानमा खुलको छ ।
त्रिविको अनुगमनमा पनि गण्डकी मेडिकलले २०१७र१८ को ब्याचसँग पाँच वर्षको १५ करोड ८७ लाख ६० हजार अतिरिक्त उठाएको खुलेको थियो । सरकारले तोकेभन्दा प्रतिविद्यार्थी १७ लाख ६४ हजार बढी उठाएको त्रिविको प्रतिवेदनमा उल्लेख छ । यो समाचार नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।