सिन्धुलीगढी । इष्ट इन्डिया कम्पनीका फौजलाई गोर्खालीले परास्त गरेको दिनको सम्झनामा समृद्ध सिन्धुली अभियानले चित्रकला शिविरको आयोजना गरी बुधबार विजय दिवस मनाएको छ । विक्रम संवत १८२४ असोज १५ गते कान्तिपुरका राजा जयप्रकाश मल्ललाई सघाउन आएको २४ सय अंग्रेज फौजलाई गोर्खालीेले सिन्धुलीगढीमा परास्त गरेका थिए ।
प्रदेश सभा सदस्य विनोद खड्काले क्यानभासमा रंग पोतेर सिन्धुलीगढी कला शिविरको उद्घाटन गर्नुभयो । उहाँले गढीको सांकेतिक चित्र बनाउनुभएको थियो । त्यस्तै, नेकपाका केन्द्रीय सदस्य कमलजंग राईले पूmल र बरिष्ठ जरा कलाकार विश्वम्भर लामिछानेले बन्दुक बताउनुभएको थियो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा समृद्ध सिन्धुली अभियानद्वारा आयोजित शिविरमा आठ जना कलाकारको सहभागिता रहेको छ ।
कलाकारहरुले सिन्धुलीगढीमा रहेका ठूलोगढी, सानो गढी, पौवागढी, दरबारलगायतको चित्रकला क्यानभासमा उतारिरहेका छन् । त्यस्तै कलाकारले अंंग्रेज सेनासँग गोर्खालीले सिन्धुलीगढीमा लडेको लडाइँको दृष्य परिकल्पना क्यानभासमा उतार्ने छन् । गढीमा तयार भएको चित्रकलालाई राजधानी काठमाडौँ र बेलायतसम्म प्रदर्शन गरिने योजना रहेको अभियानका अध्यक्ष लीलानाथ घिमिरेले जानकारी दिनुभयो । कलाकारले तयार गरेका चित्रलाई सिन्धुलीगढीको प्रचार गर्न चित्र पुस्तिका, पोष्टकार्ड, क्यालेन्डर आदि सामग्री तयार गर्न प्रयोग गरिने अभियन्ता तथा कला शिविरका संयोजक दीपक श्रेष्ठले बताउनुभयो ।
शिविरमा कलाकार तथा प्राज्ञ सुषमा राजभण्डारी, सुदर्शनविक्रम राणा, सुनिता राणा, सुरेम देशार, अश्रुराम खाइजू, अनिल खड्का, अंसु थापा मगर, सुदिप विशंखे, अनुस खाइजूको सहभागिता रहेको छ ।कार्यक्रममा प्रदेश सभा सदस्य बिनोद खड्काले सिन्धुलीगढी सिन्धुलीको मात्र नभएर नेपाल र नेपालीले गौरव गर्न लायकको ऐतिहासिक स्थल भएकाले यसको संरक्षण र प्रबद्र्धनमा सरकारी स्तरबाटै प्रयास हुनु पर्ने बताउनुभयो ।
उहाँले सिन्धुलीगढीको पर्यटकीय प्रवद्र्धनका लागि प्रदेश र संघीय सरकाले समेत सहयोग गरिरहेको चर्चा गर्दै सिन्धुलीगढी दरबारको पुनःनिर्माणका साथै राष्ट्रिय संग्रहालयको निर्माण कार्य अगाडि बढेको बताउनुभयो ।
प्रदेश संसदमा ऐतिहासिक सिन्धुलीगढीको भौगोलिक प्रतिनिधित्व समेत गर्नुहुने प्रदेश सभा सदस्य खड्काले सरकार, अभियानकर्ता, स्थानीय नागरिक सबैको संयुक्त प्रयास र सहकार्यले सिन्धुलीगढीको पर्यटकीय विकास गर्न सकिने बताउनुभयो । कार्यक्रममा जर्बुट्टा कलाकार विश्वम्भर लामिछानेले सिन्धुलीगढीमा अंग्रेजी सेनामाथि विजय हासिल गरेको दिन असोज १५ गते भन्ने इतिहासविद्हरुले स्पष्ट गरिसकेको अबस्थामा विजय दिवसका बारे कसैले भ्रम राख्न नपर्ने बताउनुभयो ।
उहाँले विजय उत्सव बर्षभरि जुनसुकै संस्थाले मनाउँदा हुन्छ, विजय दिवस भने अंग्रेजलाई पराजित गरेकै दिन मनाउनु पर्छ भन्नुभयो ।
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञ तथा चित्रकला विभाग प्रमुख शुषमा राजभण्डारीले सिन्धुलीगढीमा आएर कला सिर्जना गर्ने अवसर कलाकारले प्राप्त गरेकोमा खुशी ब्यक्त गर्नुभयो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य कमलजंग राईले जिल्लामा रहेका गढी किल्लाको संरक्षण र प्रवद्र्धनबाट पर्यटनको विकाससँगै आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















