काभ्रे । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री कुनै महाराजाको छोरा नभइ स्वतन्त्रताका लागि लडेको, लामो जेलजीवन बिताएको व्यक्ति भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपा नगरद्वारा चाडपर्वको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले उक्त कुरा बताएका हुन् ।
‘उहाँ हली–किसानको छोरा हुनुहुन्छ, उहाँलाई जनताका दुःखपीर मर्का सबै अनुभव छ, तीनलाई कसरी सुखी र खुशी बनाउने भनेर उहाँ सोचिरहनुहुन्छ।’ बाँस्कोटाले भने, ‘हामी पनि उहाँको सपनालाई साकार पार्ने अभियानमै छौं ।’
मन्त्री बाँस्कोटाले मुलुकमा गरीबीको चुनौती रहेको बताउँदै सरकार गरिबीलाई क्रमैसँग निवारण गर्न योजनाका साथ लागेको स्पष्ट पारे । ‘हामीलाई गरीबी चुनौती बनेको छ, सरकारले क्रमैसँग गरीबी निवारण गर्न रोजगारी सिर्जना, सीप, विकास, प्राविधिक शिक्षा तथा जीवनलाई सजिलो बनाउन सेवा क्षेत्रलाई प्रभावकारी बनाउने कार्यक्रम ल्याउँछ ।’ उनले भने, ‘सरकारको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को अवधारणासँगै देशको १८ प्रतिशत गरीबीलाई क्रमैसँग घटाउँदै लगिने छ ।’
आफूहरु सकारात्मक आलोचना ग्रहण गरी जनतालाई एकाकार गर्दै मुलुक निर्माणको महाअभियानमा रहेको बताउँदै समाजमा आर्थिक अवस्था कमजोर भएको वर्ग, अप्ठेरोमा परेको वर्गलाई माथि उठाई समान बनाउन सरकार लागिपरेको बताए ।
वर्तमान समय विकास निर्माणको समय भएकाले समृद्ध नेपालतर्फ लम्किने जोकोही कतै अल्मलिनु नहुने मन्त्री बाँस्कोटाले बताए । ‘काग कराउँदै गर्छ, कसैले स्याल हुइँया मच्चाए पनि सरकारको अभियानमा रोकतोक हुन्न, तपाईहरु ढुक्क हुनुहोस् ।’ उनले भने, ‘सरकारको यो वर्ष शिलान्यासको वर्ष र अर्को उद्घाटनका वर्ष हुन्छ । २२ वर्ष सत्ता चलाउनेको ‘रिजल्ट’ नचाहिने वर्तमान सरकारको एक वर्षमै रिजल्ट चाहियो भन्नु गलत हो ।’

भिडियो

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।