नेपाल र भारतबीचको सीमामा रहेका स्तम्भ स्याटलाइट प्रणालीमा जोडिने भएको छ । सीमा विवाद न्यूनीकरण गर्न दुई देशले प्रविधि प्रयोग गर्न लागेका हुन् । गत महिना भारतमा सम्पन्न दुई देशका नापी, गृह तथा परराष्ट्रका अधिकारीको बैठकमा यससम्बन्धी सहमति भएको हो । जसअनुसार जिपिएस प्रणालीमा आधारित ग्लोबल नेभिगेसन स्याटलाइट सिस्टम (जिएनएसएस प्रविधिमार्फत सीमास्तम्भ व्यवस्थित गरिनेछ । यसले सीमा विवाद न्यूनीकरण गर्ने अधिकारीहरूले बताएका छन् ।
सेप्टेम्बर ७ देखि ९ सम्म सर्भे अफिसर्स कमिटी ९एसओसी०को ११औँ बैठक देहरादुनमा बसेको थियो । सोही बैठकले यससम्बन्धी काम अघि बढाउने निर्णय गरेको हो । जसअनुसार दसैँलगत्तै काम सुरु हुने नापी विभागकी उपमहानिर्देशक करुणा केसीले बताइन् । एसओसीको बैठकमा नेपाली टोलीको नेतृत्व केसीले नै गरेकी थिइन् ।
नेपाल र भारतबीचको खुला सिमानालाई व्यवस्थित र विवादरहित बनाउन दुवै देशले संयुक्त टोली बनाएर काम गरिरहेका छन् । त्यसैअन्तर्गत विश्वका धेरै देशले अवलम्बन गरिसकेको प्रविधि अपनाएर सीमास्तम्भलाई जिएनएसएसमार्फत नियमन गर्न लागिएको हो । हाल नेपाल र भारतको सीमा व्यवस्थापनका लागि तीन तहका टोलीले काम गरिरहेका छन् । यो समाचार आजको नयाँपत्रिका दैनिकमा ईश्वरराज ढकालले लेखेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















