काभ्रे । जिल्लाको रोशी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष धनजित लामा विप्लब समूहका कार्यकर्ताहरुबाट बाल्बाल् बचेका छन् । विप्लव समुहका कार्यकर्ता बताउँदै घरमै सुतिरहेका वडा अध्यक्षको अपहरण प्रयास गरेका थिए ।
दशैंको अघिल्लो राति सवा १० बजे वडा अध्यक्ष लामा सुतीरहेको अवस्थामा अपहरण गर्ने प्रयत्न गरेका थिए । राप्रपाबाट निर्वाचिन वडा अध्यक्ष लामाका अनुसार आफू सुतीरहेको अवस्थामा जवर्जस्ती ढोका खोल्न लगाइ आफूहरुसँगै जान जवर्जस्ती गरेका थिए ।
‘म सुतिरहेको थिएँ, एक्कासी मेरो घरमा दुई जना ब्यक्ति ढोका खोल्न लगाउँदैै प्रवेश गरे । उनिहरुले आफु विप्लव समुहको कार्यकर्ता भएकाले वडा कार्यालयमा आगजनी गर्ने र गाउँपालिकाबाट सञ्चालित योजनाहरुमा भ्रष्टाचार गरेकाले अनुसन्धान गर्नु परेकाले सँगै जान दबाब दिए ।’ अध्यक्ष धनजित लामाले भने, ‘धेरै पटक मैले अनुनय विनय गर्दै रातको समयमा घरबाट फर्कन र अनियमितता भएको पुष्टी भए कानुन अनुसार कारवाही गर्न अनुरोध गरें । उनिहरुले उल्टै आफ्नै क्षेत्रमा लगेर अनुसन्धान गर्नु पर्ने भन्दै रातको समयमा सँगै जान दबाब दिए ।’
वडा अध्यक्ष धनजितले नमानेपछि उनीहरुले धम्की दिए । उनिहरुले बाबुलाई धम्कि दिए पछि छोरी एलिसा लामाले प्रतिकार गर्दै गुहार मागेकी थिईन् । उनले स्थानीयलाई गुहार मागे सँगै उनीहरु फरार भएका थिए ।
विप्लव समुहमा सक्रिय स्थानीय पोते लामा र कृष्णबहादुर मगर अपहरणको प्रयासमा संलग्न भएको वडा अध्यक्ष धनजित लामाले बताए । राति अपहरणको प्रयास भएसँगै वडा अध्यक्ष लामाले प्रहरी चौकी खहरेपाँगुमा उजुरी दिएका थिए । प्रहरीकोमा उजुरी परेसँगै प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी काभ्रेको आपत्ति
आफ्नो पार्टीबाट निर्वाचित वडा अध्यक्ष लामालाई लामालाई अपहरणको प्रयास गर्ने दुई युवालाई प्रहरीले संरक्षण गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी काभ्रेले आपत्ती जनाएको छ ।
शुक्रबार राप्रपा पार्टी कार्यालय बनेपामा पत्रकार सम्मेलन गरी वडाअध्यक्ष लामाले खहरेपागु चौकीमा लिखित जाहेरी दिएर पक्राउ परेका दुई युवालाई जिल्ला प्रहरी कार्यालय धुलिखेल प्रमुखको आदेशमा गाउँकै एक व्यक्तीको जमानीमा छाडेको बताए । अपहरणको प्रयास गर्ने माथि कुनै कारवाही नभई छोडेपछि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दार्खास्त दिन जाँदा प्रहरीले जाहेरी नलिएको उनको भनाई छ ।
उक्त घटनाबारे प्रदेश सांसद चन्द्र लामाले पनि टेलिफोन मार्फत सामान्य कुरालाई ठुलो नबनाउन आफुलाई सुझाव दिएको उनले बताए । वडाध्यक्ष लामाले भने, ‘अपहरण र ज्यानै मार्ने धम्की दिने पनि सामान्य रुपमा लिनुभयो सांसद ज्यूले ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















