काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाली काँग्रेससँगको सहयात्रा जारी रहने विश्वास व्यक्त गरेका छन् । नेपाली काँग्रेस पार्टीले आज (आइतबार) आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।
‘नेपाली कांग्रेसको यो शुभकामना आदान प्रदान कार्यक्रममा आउँदा मलाई सहयात्रीहरुकै बीचमा आएको महसूस हुन्छ । तपाईंहरुसँग आउँदा सहयागीहरुसँगै भेटघाटमा आएको महसूस हुन्छ । हेर्दै जाऊँ आगामी दिनमा राजनीतिले कसरी कोल्टो फेर्दै जान्छ ?’ उनले भने, ‘मलाई विश्वास छ, तर पनि हाम्रो सहयात्रा जारी रहनेछ । हाम्रो एकता र शान्तिप्रतिको संकल्प जारी रहनेछ र सहयात्रीकै रुपमा हामी निरन्तर अघि बढिराख्नेछौं ।’
शुभकामना मन्तव्य राख्दै प्रचण्डले आफूले विभिन्न राजनीतिक दलको रुपमा भन्दा पनि नेपालको परिवर्तनको सहयात्रीहरुको बीचको शुभकामना आदानप्रदान कार्यक्रमको रुपमा मानेको बताए ।
‘मैले विभिन्न राजनीतिक दलको रुपमा भन्दा पनि नेपालको परिवर्तनको सहयात्रीहरुको बीचको शुभकामना आदानप्रदान कार्यक्रम मानेको छु ।’ उनले भने, ‘जसको शुरुवात तपाईंहरुले गर्नुभएको छ र यो पटक तपाईंहरुले अझ व्यवस्थित, अनुशासित रुपले यो कार्यक्रमको आयोजना गर्नुभएको छ । यसको निम्ति पनि म हृदयदेखि धन्यवाद भन्न चाहन्छु ।’
उनले कार्यक्रममा स्वर्गीय गिरीजा प्रसाद कोइरालालाई समेत सम्झेका थिए । ‘मैले भन्ने गरेको छु, राजनीतिमा असम्भव भन्ने कुरा केही हुँदैन । असम्भव देखिने कुराहरु पनि राजनीतिक पार्टीको नेतृत्वको सहकार्यद्वारा सम्भव बनाउन सकिन्छ भन्ने कुराको एउटा ठूलो दृष्टान्त पछिल्लो चरणमा दिवंगत गिरिजाप्रसाद कोइराला र मैले हस्ताक्षर गरेर शुरु गरेको शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा र हामीहरुको बीचमा भएको सहकार्य र सहयात्राको एउटा नयाँ अभियानले प्रमाणित गरेको छ ।’ उनले भने, ‘एकता, सहकार्य र सहयात्रको अभियानमा दिवंगत गिरिजाप्रसाद कोइरालाले नेतृत्व गर्नुभएको थियो र संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्दै देशमा दिगो शान्ति र एउटा समृद्ध नेपालको अभियानतिर लैजाने जो प्रयास भएको थियो, हामीले यस प्रकारका शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गर्दैगर्दा त्यो महाअभियान, त्यतिबेला हामीले लिएका संकल्प र प्रतिबद्धताहरुप्रति दृढ रहने र संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत् देशको राष्ट्रिय स्वधीनता र जनताको समृद्धिको आकांक्षाको सम्बोधन गर्ने कुरा नै मुख्य हो भन्ने म ठान्छु ।’
भिडियो
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















