काभ्रे । काभ्रेको मालपोत कार्यालयमा भू–सेवा केन्द्रमार्फत कार्य सुरु गरिएको छ । मालपोत कार्यालयहरूमा भू–सेवा केन्द्र स्थापना गर्ने सरकारको नीतिअनुरूप काभ्रेमा भू–सेवा केन्द्र स्थापना गरि सेवाग्रहीलाई सेवा प्रदान गरिएको हो ।
जिल्ला मालपोत कार्यालय, काभ्रेका प्रमुख तथा मालपोत अधिकृत शालिकराम आचार्यले सरकारको नीति र सेवाग्राहीलाई सेवा प्रदान गर्न भू–सेवा केन्द्र स्थापना गरेर काम सुरु गरिएकोे स्पष्ट पारे ।
काभ्रे मालपोत कार्यालयमा भू–सेवा केन्द्र स्थापनाका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ५ असार ०७६ मा स्वीकृति दिएको थियो । ‘मन्त्रालय र विभागको निर्देशन अनुसार हामीले भू–सेवा केन्द्र सञ्चालनमा ल्याएका छौँ ।’ मालपोत अधिकृत आचार्यले भने, ‘भू–सेवा केन्द्र सञ्चालनपश्चात् सेवाग्राहीले छिटो, छरितो र सुविधायुक्त सेवा पाउनेमा हामी विश्वस्त छौँ ।’
मालपोत कार्यालय काभ्रेले भू–सेवा केन्द्र सञ्चालनमा ल्याएसँगै ५२ जनालाई भू–सेवा केन्द्र सञ्चालनका लागि अनुमतिसमेत दिइएको आचार्यले बताए । भू–सेवा केन्द्रमार्फत राजीनामा, बकस, छोडपत्र, सगोलनामा, नामसारी, रोक्का, फुकुवा, हाल साबिक, प्रतिलिपि, विद्युतीय तथ्यांक संशोधन, दाखिला, खारेजलगायतको काम हुने गरेको छ । तिहारको केही दिनभित्रै सबै काम भू–सेवा केन्द्रमार्फत गर्ने योजना बनाइएको उनले बताए ।
मालपोत कार्यालय काभ्रेको तथ्यांकअनुसार जिल्लामा ३ लाख ३१ हजार पाँच सय जग्गाधनी रहेका छन् । आव ०७४।०७५ मा भने तीन लाख १९ हजार मात्र जग्गाधनी थिए । जिल्लामा पाँच लाख ६७ हजार ६३ कित्ता जग्गा रहेकोमा १६ हजार ६ सय ५० कित्ता जग्गा सरकारी रहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।