काठमाडौं । नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा आजदेखि सुरु हुँदैछ । तीन दिनसम्म चल्ने सम्मेलनमा विभिन्न सत्रहरु सञ्चालन हुनेछन् भने संघको नयाँ नेतृत्व पनि चयन हुनेछ ।
नवौं विश्व सम्मेलनबाट सबै गैरआवासीय नेपालीहरुलाई एकताबद्ध गराइ सहकार्य र सकारात्मक कार्य गर्न उर्जा प्रदान गर्दै नेपालीका लागि नेपाली भन्ने मूल मन्त्रलाई सार्थक गराउने अपेक्षा रहेको संघको भनाइ छ । विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई संघको सञ्जालमा गोलबन्द गर्दै नेपालीका लागि नेपाली अभियान बढाउन संस्थागत संरचनाले सहयोग गरेको संघले बताएको छ ।
‘म, मेरो एनआरएनए र मेरो नेपाल’ मुल नारासहित आयोजना हुन लागेको सम्मेलन संघको महाधिवेशन पनि हो । सम्मेलनमा नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासंघले पनि साथ दिएको छ । सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले र समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधिहरु, स्वेदशी, विदेशी गरी २ हजार ५ सयको सहभागिता रहनेछ ।
एनआरएनएका प्रवक्ता भुषण घिमिरेका अनुसार प्रतिनिधिहरूको नाम दर्ता सोमबार ३ बजेसम्म र वैकल्पिक प्रतिनिधिको साँझ ७ बजेसम्म नाम दर्ता गरिएको छ । एनआरएनको नयाँ नेतृत्वका लागि विभिन्न १४ पदका लागि ४२ जना चुनिने छन् । संघको अध्यक्षमा एकजना, उपाध्यक्षमा ५ जना ९एक महिलासहित०, महासचिवमा १ जना, सचिवमा २ जना, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा १–१ जना निर्वाचित हुनेछन् ।
प्रत्येक क्षेत्रीय समितिबाट एक–एकजना गरी ६ जना क्षेत्रीय संयोजकहरु विश्व सम्मेलनबाट निर्वाचित हुनेछन् । त्यसैगरी क्षेत्रीय उपसंयोजक अन्तर्गत यसपटक युरोप क्षेत्रबाट ३ जना निर्वाचित हुने छन् । विधानबमोजिम युरोपमा ३ जना क्षेत्रीय उपसंयोजक हुने निर्वाचन समितिको सूचनामा उल्लेख छ ।
त्यस्तै एसिया प्रशान्त, अफ्रिका र मध्यपूर्वबाट २–२ जना क्षेत्रीय उपसंयोजक छानिने छन् भने उत्तर–दक्षिण अमेरिका र ओसेनियाबाट १–१ जना क्षेत्रीय उपसंयोजकमा निर्वाचित हुन पाउने छन् ।
प्रत्येक क्षेत्रबाट १–१ जनाका दरले ६–६ जना क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजक चुनिने संघले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।