पाँचखाल । काभ्रे जिल्लाको कृषि नगरी भनेर चिनिने पाँचखालमा हुन गइरहेको दोस्रो पाँचखाल महोत्सव–२०७६ को तयारी पूरा भएको छ । महोत्सवको तयारी पूरा भएको पाँचखाल नगरपालिका वडा नं. २ का वडा अध्यक्ष तथा महोत्सवका सल्लाहकार हरि खतिवडाले तेमाल अनलाईनलाई जानकारी दिए ।
‘भोली असोज २९ गतेदेखि कार्तिक ९ गतेसम्म सञ्चालन हुने दोस्रो पाँचखाल महोत्सव–२०७६ को तयारी पूरा भएको छ ।’ खतिवडाले भने ।
नेपाली हिन्दुहरुको महान पर्व विजया दशमी र दीपावलीको पावन अवसरमा पाँचखाल युनाइटेड फुटबल एशोसिएसन, पाँचखालको आयोजनामा महोत्सवको आयोजना गरिएको हो ।
‘खेलकुद विकासमा युवा अभियान, कृषि, सँस्कृति र पर्यटन प्रबद्र्धन पाँचखाल महोत्सवको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त महोत्सवको उद्घाटन सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले गर्ने वडा अध्यक्ष खतिवडाले जानकारी दिए ।
‘पाँचखाल नगरको साँस्कृतिक पहिचानमा बढावा दिने, कृषि उपज उत्पादन तथा नगरका पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने उद्देश्यले यो महोत्सव गर्न लागेका हौं ।’ खतिवडाले भने, ‘यो महोत्सवमा कृषि सम्बन्धी सामग्रीहरु, पाँचखालमा उत्पादन हुने विभिन्न बस्तुहरु, कपडाहरु लगायतका सामग्रीहरुको स्टल हुनेछ ।’
पाँचखाल नगर पालिका, उद्योग वाणिज्य संघ, नगरमा सक्रिय विभिन्न सामाजिक संघ।संस्था तथा क्लवहरुसँगको समन्वय र सहकार्यमा महोत्सव आयोजना गर्न लागेको कार्यक्रम संयोजक जीवन नेपालले बताए ।
संयोजक नेपालले पहिलो पाँचखाल महोत्सवको अनुभवलाई सदुपयोग गर्दै भिजिट नेपाल २०२० थप मद्दत पु¥याउन समेत महोत्सव आयोजना गर्न लागिएको बताउँदै महोत्सवमा स्थानीय उत्पादन, पाँचखालका तरकारी तथा कृषिजन्य उत्पादनलाई महोत्सवमा विशेष महत्व दिने र पाँचखालका साँस्कृतिक पर्यटकीय स्थलहरु अनैकोटमा रहेको भ्यू टावर लगायतका स्थलहरुको प्रचार गरी पाँचखालमा पर्यटक भित्राउन समेत महोत्सव फलदायी हुने नेपालले बताए ।
महोत्सवमा ८० देखि १ सय स्टलहरु रहने र १ लाख भन्दा बढी आगन्तुकहरुले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको आयोजक संस्था पुफाका अध्यक्ष मिलन श्रेष्ठले जानकारी दिए । महोत्सवमा प्रत्येक दिन चर्चित कलाकारहरुको साथमा मनोरन्जनात्मक कार्यक्रमका साथै बालबालिकाको लागि बालोद्यन समेत रहने आयोजकले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















