पाँचखाल । प्रदेश ३ का प्रदेश सभा सदस्य सांसद लक्ष्मण लम्सालले पाँचखालबासीलाई उत्पादनमा जोड दिन अनुरोध गरेका छन् । बुधबार दोस्रो पाँचखाल महोत्सव–२०७६ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लम्सालले उक्त अनुरोध गरेका हुन् ।
‘समृद्ध पाँचखाल र सुखी पाँचखालबासी बनाउन यहाँको जनताको जीवनस्तर माथि उठाउन अघि बढ्नुपर्छ । त्यसको लागि युवाहरु देश छोडेर वा पाँचखाल छोडेर बाहिर जाने काम अब रोकिनुपर्छ ।’ सांसद लम्सालले भने, ‘यही केहि गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिनुपर्छ । त्यसको लागि सबैभन्दा पहिला पाँचखालमा उत्पादनमा जोड दिनुपर्नेहुन्छ ।’
सबै मिलेर एकता बद्ध भएर पाँचखाल बनाउन सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा सांसद लम्सालको जोड थियो ।
उनले प्राथमिकताको आधारमा विकास निर्माणमा बजेट बिनियोजन गर्दै आएको बताए । गत आर्थिक वर्षमा पनि पाँचखालमा निर्माण भएको रंगशालाको लागि बजेटको व्यवस्था गरेको बताउँदै लम्सालले अब यहाँको रंगशालालाई जिल्ला स्तरको खेलकुद प्रतियोगिता गर्न मिल्ने खालको खेलमैदान बनाउने प्रतिबद्धता जनाए ।