चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनलाई खतरा अरु कोहीबाट नभई आफैबाट रहेको बताएका छन् । नेकपा चितवनले आज विभिन्न पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा प्रचण्डले सत्तरी वर्षदेखि लडेर ल्याएको परिवर्तन संस्थागत गर्नु हाम्रै जिम्मेवारी र दायित्व भएको बताए । ‘हामी बिग्रियाँै भने प्रतिक्रियावादीले केही गर्नुपर्दैन सजिलै सोभियत सङ्घ जस्तै खतरा हुन्छ ।’ उनले भने, ‘कसैले हल्लाएर हल्लिने स्थिति बिल्कुलै छैन तर हामी आफैँले ल्याएको परिवर्तनप्रति त्यसको रक्षा, कार्यान्वयन गर्नेप्रति हामी कति गम्भीर छौँ ।’ प्राप्त उपलब्धिलाई संस्थागत गर्ने कुरामा अलि बढी हेलचेक्र्याइँ, लापरवाही या अलि बढी आत्मकेन्द्रित हुँदै त गएका छैनौँ ? उनले प्रश्न गरे ।
प्रचण्डले कहिलेकाहीँ क्रान्तिको केन्द्र ठिक ढङ्गले पार्टी, नेता र कार्यकर्ताले आत्मसात गर्न सकेनन् भने प्रतिक्रान्तिको खतरा हुने बताए । प्रतिगामी खेल्ने ठाउँ चितवन बनेको भन्दै उनले अराजकता फैलाउनेमा पार्टीका समर्थक, शुभचिन्तक पनि पछि लागेको सुनेको र देखेको भन्दै चिन्ता व्यक्त गरे ।

Comments

comments