काभ्रे । काभ्रे जिल्लाका १ सय ४ आफ्नो नाममा जग्गा नभएका भूकम्प लाभग्राहीलाई घर बनाउनको लागि जग्गा प्रदान गर्ने निर्णय गरेको छ । राष्ट्रिय पुनरर्मिाण प्राधिकरण अन्तर्गत जिल्ला समन्वय समिति काभ्रेका संयोजक तथा संघिय सांसद गंगाबहादुर दोङ (बमध्वज)को अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । जिल्लाका भूमिहिन भूकम्प लाभग्राहीहरुलाई घर निर्माण गर्नका लागि जग्गा उपलब्ध नहुदा घर निर्माणमा भुमीहिनहरुले समस्या बोकिरहेका थिए ।
राष्ट्रिय पुनरनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार काभ्रेको प्रमुख सागार आचार्यका अनुसार जिल्लाका भूमिहिन परिवारहरुका लागि पहिलो र दोस्रो चरणमा गरी एक सय ४ घर परिवारलाई भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्नका लागि जग्गा उपलब्ध गर्ने निर्णय गरेको बताएका छन् ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्र्तगत जिल्ला समन्वय समिति काभ्रेमा संघिय सांसद बमध्वजको संयोजकत्वमा समिति रहेको छ । सोही समितिले पहिलेदेखि बस्दै आएको घर जग्गामै भूकम्प प्रतिरोधी घर निर्माणको लागि स्वीकृति दिएको आचार्यको भनाई छ । उनीहरूले भोगचलन गर्न पाउने तर किनबेच गर्न नपाईने आचार्यले बताए ।
‘संघीय सांसद गंगाबहादुर तामाङको संयोजकत्वमा रहेको राष्ट्रिय पुनरर्मिाण प्राधिकरण अन्तर्गत जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्णय अनुसार एक सय ४ जनालाई पहिलादेखि बस्दै आएको घर भएकै जग्गामा घर बनाई भोगचलन गर्न पाउने गरी निर्णय गरिसकेका छौं ।’ आचार्यले भने, ‘भोगचलन भएको तर आफ्नो नाममा जग्गा नभएकाहरुका लागि अब उहाँहरुले त्यही ठाउँमा घर निर्माण गर्न पाउनेछन् ।’ अझै त्यस्ता भूकम्प लाभग्राही बाकी रहेको र त्यको लागि कागजपत्र संकलन गर्दै गरेको पनि आचार्यले बताएका छन् ।
त्यसरी पहिलाकै ठाउँमा घर निर्माण गर्न पाउने घर परिवारहरुमा धुलिखेल नगरपालिका, भुम्लु गाउँपालिका, बनेपा नगरपालिका, मण्डनदेउपुर नगरपालिका, नमोबुद्ध नगरपालिका, पाँचखाल नगरपालिका, तेमाल गाउँपालिका र पनौती नगरपालिकाका गरी एक सय ४ जना घर परिवार रहेको राष्ट्रिय पुनरनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार काभ्रेले जनाएको छ ।
२२ भूमिहिन भूकम्प लाभग्राहीलाई २ लाख दिन स्वीकृति
त्यस्तै भूमिहिन लाभग्राहीका लागि साविक ठाउँमा घर नबनाई अन्य ठाउँमा जग्गा खरिद गरी बस्न चाहने घरपरिवारलाई पनि सरकारको निर्णय अनुसार जग्गा खरिदको लागि दुई लाख रुपैयाँ उपलब्ध गरेको छ । दूई लाख पाउनेमा २२ घर धुरीका परिवार रहेका छन् ।
राष्ट्रिय पुनरनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार काभ्रेका प्रमुख सागर आचार्यका अनुसार भूमिहिन भएर भूकम्प पुनरनिर्माणको लागि साविक घर भएको ठाउँभन्दा अन्य ठाउँमा घर बनाउन भनि दिएको निवेदनको आधारमा केन्द्रमा पठाएको विवरण स्वीकृत भई आएका मध्ये २२ घर परिवारलाई दूई लाखका दरले रकम वितरण गर्न माथिबाट निर्देशन आईसकेको बताएका छन् ।
कुन गाउँपालिकामा कतिजनाले पाउनेभयो रकम ?
त्यसरी रकम लिएका २२ लाभग्राही मध्ये १७ जनाले जग्गा खरीद गरिसकेको पनि आचार्यले बताएका छन् । त्यसरी जग्गा खरिदका लागि रकम पाउनेहरुमा चौरीदेउराली गाउँपालिकामा १, मण्डनदेउपुर नगरपालिकामा २, धुलिखेल नगरपालिकामा ५, पाँचखाल नगरपालिकामा ५, रोशी गाउँपालिकामा १, तेमाल गाउँपालिकामा २ र भुम्लु गाउँपालिकामा १ घर परिवारले जग्गा खरिद गरिसकेको पुनरनिर्माण प्राधिकरणले जनाएको छ । अन्य पाँच घर परिवारले भने जग्गा खरिद गर्न ठाउँ नमिलेको भन्दै ढिला गरिरहेको जनाएको छ ।
त्यसैगरी भूमिहिन हुँ भनेर निवेदन सहितको विवरण पेश गर्न आउने अन्य ७० जना घर परिवारको पनि विवरण केन्द्रमा पठाईसकेको र त्यहाँबाट निर्णय भएर आएपछि प्राप्त विवरणको आधारमा वितरण गर्ने कार्यालयका प्रमुख आचार्यले बताएका छन् ।
दुई घरपरिवारलाई उजुरी
जग्गा हुदाहुदै भूमिहनि भनि सरकारको सेवा सूविधा लिएको भन्दै दुई घर परिवारलाई उजुरी परेको राष्ट्रिय पुनरनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार काभ्रेका प्रमुख सागर आचार्यले बताएका छन् । उक्त उजुरी उपर छानविन गरीरहेको पनि उनले बताए । उजुरी प्रमाणीत भएमा उनीहरूलाई कानुन अनुसार कारवाही हुने उनले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















