दाङ । दाङको राजपुर गाउँपालिका–४ मरेठा जंगलबाट बिहीबार बिहान पक्राउ परेका प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता तथा कार्यकर्ताहरुबाट विभिन्न हतियार सहित नगद बरामत भएको छ ।

आज जिल्ला प्रहरी कार्यालय, दाङले पक्राउ परेकाहरूको सम्पूर्ण विवरण सार्वजनिक गरेको थियो । पक्राउ परेकाहरूबाट लोड गरिएको पेस्तोल, गोलीसहित महत्वपूर्ण राजनीतिक दस्तावेज बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले जनाकारी दिए । पक्राउ परेका नेता तथा कार्यकर्ताहरुबाट लोड गरिएको अमेरिकन पेस्तोल दुई थान, कटुवा पेस्तोल चार थान, नगद ३ लाख ८४ हजार पाँच सय तीस रुपैयाँसमेत बरामद गरेको प्रवक्ता शाहले बताए ।

यसैगरी २४ थान मोबाइल सेट, केन्द्रीय समितिको आठौं पूर्ण बैठकको राजनीतिक प्रस्ताव लेखिएको २५ पानाको तीन ठेली, चन्दा संकलनको लागि ठिक्क पारिएको पत्र, नेपाल कम्युनिष्ट पार्टीको छाप, विभिन्न राजनीतिक दर्शनका किताबसमेत बरामद गरी सार्वजनिक गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेकाहरूलाई संगठित अपराध, राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

दाङको राजपुर गाउँपालिका–४ मरेठा जंगलबाट बिहीबार बिहान पक्राउ परेका समूहका पश्चिम कमाण्ड इञ्चार्ज वीरजंग चन्दसहित २१ जना नेता तथा कार्यकर्तालाई शुक्रबार अदालतमा पेस गरी पाँच दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थप गरिएको छ ।
पक्राउ गरेका उनीहरूलाई दाङ देउखुरी जिल्ला अदालत घोराहीबाट आवश्यक अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिएको हो । म्याद थपका लागि दाङ देउखुरी जिल्ला अदालत पेश गर्नुअघि उनीहरूलाई सरकारी वकिलको कार्यालयमा लगिएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















