दोलखा । संघिय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले दोलखाको जिरीमा अबरुद्ध हवाई सेवा सूचारु गर्ने प्रतिबद्धता जाहेर गरेकाछन् । विजया दशमी र दिपावलीको अवसर पारेर युवा सञ्जाल जिरीले शुक्रबारदेखि दोलखाको जिरी बजारमा आयोजना गरेको ‘स्ट्रिट फुड फेस्टिभल’ को शुक्रबार उद्घाटन गर्दै मन्त्री भट्टराईले उक्त प्रतिबद्धता जाहेर गरेका हुन् ।

सम्बोधनको क्रममा भट्टराईले जिरीलाई ‘स्वर्गको टुक्रा’ भएको बताउँदै जिरीको पर्यटन विकासमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
‘आन्तरिक र बाह्य पर्यटकको आकर्षण केन्द्र जिरीमा अबरुद्ध हवाई सेवा सुचारु गर्न पहल गर्नेछु ।’ उनले भने, ‘सरकारले आन्तरिक पर्यटन विकास गर्न स्वदेशको भम्रणमा जोड दिएछ ।’
कार्यक्रममा पूर्व राज्यमन्त्री तथा नेकपाका जिल्ला इन्चार्ज देवी खड्का, जिल्ला समन्वय समितिका उपप्रमुख मनमाया जिरेल, प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, सामुदायिक रेडियो प्रचार संघमा कोषाध्यक्ष लक्ष्मण खडका लगायतले आफ्नो मन्तव्य दिएका थिए ।

कार्यक्रममा जिरीको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने पत्रकार अमृत भादगाउँले, मन्थली उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापा, निर्माण व्यवसायी नारायण प्रधान र जिरीका युवा पासाङ शेर्पालाई सम्मान गरिएको थियो । महोत्सवमा खानाका विभिन्न परिकार राखिएको छ । फेस्टिभल ३ दिनसम्म चल्ने युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्र ज्योती खडकाले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















