ललितपुर । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले काँग्रेस र नेकपाले भन्ने गरेको समाजवाद बाउन्स चेकसँग तुलना गरेका छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिकामा विभिन्न पार्टीमा कार्यकर्ता तथा स्थानीय समाजसेवी युवाहरूलाई पार्टी प्रवेश गराउदै श्रेष्ठले उक्त कुरा तुलना गरका हुन् ।
‘काङ्ग्रेस र नेकपाले भन्ने गरेको समाजवाद बाउन्स चेक जस्तै हो । भुक्तानीका लागि दिएको चेकको पैसा लिन जाँदा बैंक खातामा पैसा नभए जस्तै उनीहरूले भनेको समाजवादमा समाजवादको ‘स’ पनि छैन ।’ श्रेष्ठले भने ।
नेता श्रेष्ठले मुहान नै धमिलो भए स्वच्छ पानी नआउने भन्दै पुराना राजनीतिक दलहरू भ्रष्टाचार र व्यभिचारको पर्याय बनेको बताए । उनले आफ्नो पार्टीले पहिचान र अधिकारसहितको सङ्घीयता, सुशासनयुक्त राज्य र समतामूलक समृद्धिको माध्यमबाट समाजवादमा पुग्ने लक्ष्य राखेको बताए । उनले समाजवादी पार्टीले पुराना पार्टीहरूले जस्तो एकल जातीय पार्टी नबनाउने बताउँदै आफ्नो पार्टीले जस्तो समाज उस्तै पार्टी, जस्तो समाज उस्तै राज्यको परिकल्पना गरेको बताए ।
श्रेष्ठले समाजवादी पार्टीले सिद्धान्तमा मात्र नभई सङ्गठन र कार्यशैलीमा पनि नयाँपन ल्याउनुपर्ने बताए । पुँजीवादीहरूले नेताहरूलाई ग्रेटम्यान ठानेर देवत्वकरण गर्ने गरेको छ । त्यसको सिको गर्दै आफ्नो पार्टीमा पनि पुँजीवादी विकृति भित्रन सक्ने भएकाले सतर्क रहनुपर्ने बताए । उनले नेताहरू आउँछन् जान्छन् तर नीति निरन्तर अगाडी बढ्ने बताउँदै समाजवादीहरूले नेताहरूको ब्रान्डनेम होइन समुन्नत सङ्घीय समाजवादलाई ब्रान्ड बनाएर जानुपर्ने बताए ।
महालक्ष्मी नगर समतिका अध्यक्ष दीपा थापा मगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य डा पुस्पराज राजकर्णीकार, केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज राजन केसी, केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेशका सहइन्चार्ज लालवहादुर तामाङ, केन्द्रीय विज्ञ परिषद सदस्य बिनोद नेपाली लगायतले समाजवादी पार्टी देशको वैकल्पीक राजनीतिक शक्ति बनेको बताए ।
नेपाल कम्युनिष्ट पार्टी लगायत विभिन्न पार्टी परित्याग गरी अब्बास पण्डीत लगायत ८१ जना व्यक्तिहरू पार्टी प्रवेश गरेको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू उत्तम लामा, मानवहादुर धामी, केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेशका मुख्य सचिव मोहन बराइली, नेवाः प्रदेश उपाध्यक्ष जनक थापा, रमेश महत लगायतले पनि नवप्रवेशीहरूलाई स्वागत गरेका थिए ।

Comments

comments