काठमाडौं । ज्यान मार्ने उद्योगमा मुद्दा परेपछि जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद पार्वत गुरुङ साधारण तारेखमा रिहा भएका छन्।
२०७४ वैशाखमा भएको स्थानीय तहको निर्वाचनको भोलिपल्ट काठमाडौंको गौशालामा गम्भीर घाइते हुने गरी एकजना युवक कुटिएको घटनामा गुरुङसहित ७ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो।
आइतबार उपस्थित भएका गुरुङको जिल्ला न्यायाधीश पुणेश्वर प्रसाद उपाध्यायको इजलासमा बयान लिइएको थियो। न्यायाधीश उपाध्यायकै आदेशमा गुरुङ साधारण तारेखमा रिहा भएका हुन्। गुरुङको पक्षमा वरिष्ठ अधिवक्ताहरु शम्भु थापा र टीकराम भट्टराईसहित ६ जना वकिलले बहस गरेका थिए।
नेकपाका केन्द्रीय सदस्यसमेत रहेका गुरुङ गत भदौमा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी काटेपछि उपस्थित भएका थिए। २०७४ सालको स्थानीय तह निर्वाचनपछि राजधानीको गौशालामा एकजनामाथि गम्भीर घाइते हुने गरी भएको आक्रमणको घटनामा गुरुङविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको थियो।
अदालतले प्रहरीलाई गुरुङलाई पक्राउ गरी कात्तिक १४ गतेभित्र उपस्थित गराउन भनेको थियो। तर गुरुङ म्यादअगावै उपस्थित भएपछि अदालतको सात नम्बर इजलासमा आजै बयान भएपछि यो निर्णय आएको हो।
दोलखाकै विश्वध्वज खड्काले जाहेरी मुद्दामा जिल्ला अदालत काठमाडौंले दोलखा जिल्ला अदालतमा पत्र पठाई म्याद तामेल गरेको थियो। यो घटनामा आरोप प्रमाणित भएमा गुरुङलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ।
२०७४ वैशाखमा सम्पन्‍न स्थानीय तहको निर्वाचनपछि काठमाडौंका गौशालामा भएको सांघातिक आक्रमणको घटनामा संलग्न भएको अभियोगमा सांसद गुरुङसहित ७ जनाविरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको थियो।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।