चितवन । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आक्रोशित भिडले चितवन मेडिकल कलेज (सिएमसी)मा तोडफोड भएको छ । तोडफोडमा संलाग्न भएको आरोपमा प्रहरीले १२ जना पक्राउ गरेको ।
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक एक नारायण कोइरालाले अस्पताल तोडफोडमा संलग्न उनीहरूलाई पक्राउ गरिएको पुष्टी गरेका छन् ।
कोइरालाका अनुसार करिब आधा घण्टाभन्दा बढी प्रहरी र आक्रोशित समूहबीच अस्पताल परिसरमा दोहोरो झडप भएको थियो । झडपका क्रममा प्रहरीले दर्जन बढी अश्रुग्याँस प्रहार गर्नुपरेको प्रवक्ता कोइरालाले बताए । झडपमा परी पाँचजना प्रहरी घाइते भएको कोइरालाले बताए ।
नवलपरासी मध्यबिन्दु नगरपालिका–९ की ३२ वर्षीया आशा ज्ञवालीको उपचारका क्रममा शनिबार मृत्यु भएपछि अस्वभाविक मृत्यु भएको भन्दै उनका आफन्तले आइतबार साँझ ५ बजे तोडफोड गरेका हुन् ।
घटनाका विषयमा अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल चलिरहेको अवस्थामा अस्पताल बाहिरबाट गएको एक समूहले मुल गेटको सिसा तोडफोड गरेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए ।

Comments

comments