काठमाडौं । विभिन्न होटलमा लगेर युवतीहरुलाई स्वदेशी तथा विदेशी पुरुषसँग यौनसम्पर्क गर्न लगाएको आरोपमा प्रहरीले एक युवालाई पक्रउा गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको भक्तिपुर गाविस–१ स्थायी घर भई हाल काठमाडौं, डल्लु बस्ने ३१ वर्षीय टंकबहादुर माझी रहेका छन् । राजधानीमा रोजगारीको प्रलोभन दिएर युवतीहरुलाई यौनसम्पर्कका लागि बाध्य पारेको माझीलाई आरोप छ ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीका अनुसार ठमेल आसपासका होटलमा लगेर माझीले राजधानी बाहिरबाट आएका युवतीलाई काममा लगाइदिन्छु भन्दै यौनसम्पर्कमा बाध्य पार्ने गरेको पाइएको छ ।
दरबारमार्गबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान नागपोखरीमा शंकास्पद अवस्थामा आएको ट्याक्सी रोकेर सोधपुछ गर्दा तीन युवती ठमेल क्षेत्रका होटलमा परपुरुषसँग यौनसम्पर्कपछि डेरातर्फ जाँदै गरेको तथ्य खुलेको बोगटीले बताए । उनीहरुका साथबाट परिवार नियोजनका अस्थायी साधनसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरुकै बयानका आधारमा प्रहरीले माझीलाई पक्राउ गरेको हो । माझीले ती युवतीलाई यौनसम्पर्कमा लगाएबापत पुरुषहरुसँग मोटो रकम असुल्ने गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका माझीलाई जिल्ला अदालतमा पेश गरी अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जानकारी दिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















