काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा गोप्य बार्ता भएको छ । सोमबार ३ नेताहरुबीच समसामयिक विषयमा कुराकानी भएको स्रोतले बतायो । प्रधानमन्त्री निवासमा भएको भेटमा सत्य निरुपण तथा मेलमिलाप आयोग, वेपत्ता छानबिन आयोगको नेतृत्व तय गरी द्वन्द्वकालिन समस्या समाधानका विषयमा पनि कुराकानी भएको बताइएको छ । कतिपय विधेयक र हाल भइरहेका राजनीतिक विषयमा कुराकानी भएको सुवास नेम्वाङले बताए ।
यसलाई सत्ता र प्रतिपक्षको बेलामौकाको छलफल र परामर्शका रुपमा लिनुपर्ने उनले बताए । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सुरुङमार्गको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । सोमबार नागढुंगा सुरुङमार्गको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले समयमै काम सक्ने विश्वास व्यक्त गरे । उनले अघि भने, ‘अब हामी मात्र साढे ३ वर्ष पर्खिनुपर्छ । त्यसपछि हामीले एउटा गीत हेरेका हौंला, काठमाडौंबाट यसो छिरेर उता हेटौंडा निकालेको देखाउँथ्यो । उताबाट छिरेर उता निक्लेको त ४२ महिनापछि भइहाल्छ ।’
उनले ठेकदार कम्पनीलाई पनि समयमै काम सम्पन्न होस् भनेर सचेत गराएका छन् । नेपालभित्र काम जिम्मा लिएर समयमा नगर्ने देखिएको भए पनि जापानी कम्पनीले समयमै काम गर्ने गरेको अनुभव रहेको बताए । प्रधानमन्त्रीले टोखा–छहेर, बेत्रावती –स्याफ्रुवेशी सुरुङमार्गलाई अगाडि बढाउन लागिएको उनले बताए । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा यो सुरुङमार्गबारे अध्ययन गर्ने समझदारी भएको थिए ।
प्रधानमन्त्री ओलीले आफ्नो सरकारको पालामा इतिहासमा कहिल्यै नभएका काम भएको दाबी गरे । १६०० किलोमिटर त सडक कालोपत्रे मात्र गरिएको, २४३ पक्की पुल र दुई सय हाराहारी झोलुंगे पुल बनेको बताए । ‘हामीले बाटाहरु मात्र बनाइरहेका छैनौं । एयरपोर्टहरु बन्दैछ । फास्ट ट्र्याक बन्दैछ, हुलाकी राजमार्ग सकिनै लागेको छ,’ उनले अघि भने । अधिकांश समय सरकारको कामको चर्चा गरेका बैंक खाता, जेष्ठ नागरिकको स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोष लगायतका कार्यक्रम उल्लेख गरे ।
आफूले पानी जहाजको कुरा गर्दा कतिपयले खिल्ली उडाए पनि अहिले कोलकाताबाट विराटनगर नजिकसम्म पानी जहाजमा साउन आउन थालेको प्रधानमन्त्री ओलीले दावी गरे । सप्तकोसीमा सानो भए पनि पानी जहाज चलेको भन्दै प्रधानमन्त्रीले २० मिनेटमा सुनसरीबाट भोजपुर पुग्न सकिने बताए । उनले भने, ‘कुरा गर्ने मान्छेहरु कुरा गरिरहेका छन् । सरकारले काम गरिरहेको छ । दुरगामी असर पार्ने कदमहरु चालेको छ ।’ प्रधानमन्त्री ओलीले विद्युतीय बसका लागि छुट्याएको रकम खर्च हुन नसकेकामा चिन्ता गर्दै उनले यस विषय गडवडी भए नभएको हेरिरहेको बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।