काठमाडौं । काठमाडौंको बौद्धबाट नक्कली नोट छाप्ने मेसिन सहित तीन जना पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले सोमबार विहान पक्राउ गरेको हो ।
विशेष सुराकीका आधारमा सोमबार विहान महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले काठमाडौंको बौद्ध स्थित नयाँबस्तीबाट नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ गरेको छ । बृत्तका प्रमुख डिएसपी रमेश सिंहका अनुसार, प्रहरीले उनीहरुका साथबाट ३४ हजार बराबरको नक्कली नोट र नोट बनाउन तयार पारिएको करिव २ सय ९० वटा कागज, रंगीन फोटोकपी मेसिन सहित अन्य सामाग्री समेत बरामद गरेको छ ।
प्रहरीका अनुसार, पक्राउ पर्नेमा दोलखा जिल्ला मेलुङ गाउँपालिकाका राजन परियार, सन्तोष नेपाली र महेन्द्र नेपाली छन् । डीएसपी सिंहका अनुसार, उनीहरुले काठमाडौंमा फ्ल्याट नै भाडामा लिएर नक्कली नोट छाप्ने गरेको खुलेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, पक्राउ परेका उनीहरुले विभिन्न बहानामा नक्कली नोट बनाउँदै बजारमा पु¥याउँदै आएका थिए । उनीहरुले अहिलेसम्म ६० हजार रुपैयाँ बराबरको नक्कली नोट बजारमा र्पुयाईसकेको प्रहरी समक्ष स्वीकारेका छन् ।
यस्तो छ कानूनी व्यवस्था
मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २५६ अनुसार, खोटा मुद्रा बनाउने काममा संलग्न भएमा खोटा मुद्राको परिणाम र मूल्य विचार गरी ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजारदेखि १ लाखसम्म जरिवाना तोकिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















