पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक पनि भएको खुलेको छ । भारतको उत्तरप्रदेशको गोरखपुरनिवासी उनी त्यहाँको एक कलेजको व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् । उनले भारतीय नागरिककै रूपमा शपथ पनि खाएका छन् । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा नेपाल प्रहरीको सिआइबीले अनुसन्धान गरिरहेको छ ।
उत्तरप्रदेश, महाराजगन्जको ठुठीबारीस्थित राधादेवी इन्टरकलेज व्यवस्थापन समितिको अध्यक्षका लागि कँडेल चुनाव लडेका थिए । सन् २०१६ मा भएको चुनावमा उनी असफल भए पनि गत वर्ष भएको चुनावमा भने उनी निर्वाचित भएका थिए । निर्वाचित भएलगत्तै हिन्दी भाषामा शपथ खाँदा कँडेलले आफू भारतको ३३ कसाया रोड, बेतिया हाता, जनपद गोरखपुरको बासिन्दा भएको व्यहोरा उल्लेख गरेका छन् । आफूले दिएको विवरण गलत भए भारतको संविधानअनुसार कारबाही भोग्न तयार रहेको स्वघोषणा पनि उनले शपथमा गरेका छन् ।
शपथपत्रमा उनले भनेका छन्, ‘मिनजानिब देवेन्द्रराज कँडेल )उपप्रबन्धक।उपमन्त्री व कार्यवाहक अध्यक्ष।चेयरमैन० पुत्र स्व) पृथ्वीराज कँडेल–३३ कसया रोड, बेतिया हाता, जनपद–गोरखपुर– शपथकर्ता स–शपथ निम्न बयान करता है– यह कि हम शपथकर्ता बहलफ बयान करता हूँ व कसम खाता हूँ कि हम शपथकर्ताका उपरोक्त नाम, पद, पिताका नाम व पता जो उपर दर्ज हैं सही व सच है ।’
कँडेल आफैँले भारतीय नागरिक घोषणा गरेर उत्तरप्रदेशको कलेज सञ्चालक समितिको अध्यक्षका रूपमा शपथ खाएको विषयमा अख्तियारमा उजुरी परेको छ । अख्तियारले यो विषयमा अनुसन्धान गर्न निर्देशन दिएपछि नेपाल प्रहरीको सिआइबीले अनुसन्धान टोली खटाएको छ । सिआइबीको टोली स्थलगत अनुसन्धान गर्न गोरखपुर पुगेर फर्किएको छ । क“डेलले भारतीय नागरिकका रूपमा भारतीय कानुनअनुसार शपथ खाएको प्रमाण पनि भेटेको छ । यो समाचार नयाँपत्रिका दैनिकमा पुष्प ढुंगानाले लेखेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।