तेमाल । काभ्रेको तेमाल गाउँपालिकाले अपांग परिचयपत्र वितरण शुरु भएको छ । प्रत्येक वडामा पुगेर अपांग परिचयपत्र वितरण गर्ने गाउँपालिकाको योजना अनुसार आजबाट शुरु भएको हो ।

सोही अनुसार आज तेमाल गाउँपालिका वडा नं. १ र २ मा वितरण सम्पन्न गरेको छ । परिचयपत्र वितरणका लागि तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङ, उपाध्यक्ष दुर्गामाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईंकेल, स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठक, दुवै वडाका वडा अध्यक्षहरु मानबहादुर श्रेष्ठ र तिमालसिं तामाङ र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधिहरु, वडा सदस्यहरु पुगेका थिए ।

वडा नं. १ का वडा अध्यक्ष श्रेष्ठका अनुसार सो वडामा १९ जना अपांगता भएकाहरुलाई परिचय पत्र वितरण गरिएको छ । सो वडामा ख वर्गका २ जना, ग वर्गका १२ जना र घ वर्गका ५ जनालाई परिचय पत्र वितरण गरिएको वडा अध्यक्ष श्रेष्ठले तेमाल अनलाईनलाई बताए ।

त्यसैगरि वडा नं. २ मा २४ जनालाई अपांगता परिचयपत्र वितरण गरिएको २ नं. वडा अध्यक्ष तिमालसिं तामाङले जानकारी दिए । सो अनुसार क वर्गका १ जना, ख वर्गका ९ जना, ग वर्गका १० जना र घ वर्गमा ४ जना रहेका छन् । अपांग परिचयपत्र दुवै वडाको वडा कार्यालयमा वितरण गरिएको थियो ।

तेमाल गाउँपालिकाले प्रत्येक वडामा पुगेर अपांगता परिचयपत्र वितरण गर्ने क्रममा बुधबार (भोली) वडा नं. ३ र ४ र विहिबार वडा नं. ५ र ६ मा वितरण गरिने बताइएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।