काठमाडौं । सभामुख पद खाली भएपछि खाली पदमा को चयन हुन्छ भन्ने जिज्ञासा सबैमा छ । नेकपा भित्र अझ बढी चर्चामा छ । आफ्नो कुन नेतालाई सभामुख बनाउने भन्ने विषयमा आन्तरिक बहस चलेको छ ।
पूर्व माओवादी केन्द्रको भागमा परेको सभामुख पद पार्टी एक भइसकेको अवस्थामा को बनाउने भन्ने विषयमा छलफल भइरहेको स्रोतले बताएको छ । पूर्व एमाले भित्रकै केही नेताहरुले पार्टी एक भएकोले पूर्व माओवादी केन्द्र वा पूर्व एमाले भनेर सभामुख पदमा चयन नहुने बरु नेकपाको कुनै नेतालाई चयन गरिने बताउँदै आएका छन् ।
त्यसो भएपछि सभामुख पदमा नेकपाभित्रको पूर्वमाओवादीले आफ्नो दावी प्रस्तुत गर्न सक्ने सम्भावना जति देखिएको छ नेकपाभित्रकै पूर्वएमालेले कुनै हालतमा सभामुख पद नछोड्ने सम्भावना पनि त्यत्ति कै छ ।
हालसम्म पार्टी्भित्र र बाहिर करीब पौने एक दर्जन नेताहरू नाम सम्भावित सभामुखका रुपमा चर्चामा छन् । चर्चामा रहेका नेताहरुमा सुवास नेम्वाङ्ग, सोमप्रसाद पाण्डे, विरोध खतिवडा, हृदयेश त्रिपाठी, पम्फा भुषाल, देव गुरुङ्ग, देवेन्द्र पौडेल, ओनसरी घर्ती र अग्नि सापकोटा रहेका छन् ।
नेपाली कांग्रेसले समेत सभामुखमा दाबी गरिरहेको छ । सभामुख र उपसभामुख दुई भिन्न दलहरूबाट हुने संवैधानिक ब्यवस्था भएकोले राजपाका नेता लक्ष्मणलाल कर्णको नाम पनि सम्भावित उपसभामुखका रुपमा अगाडि आएको छ ।
सत्तारुढ पार्टीले सभामुख पद नछोड्ने निश्चित भएको र उपसभामुख शिवमाया तुम्बाहाम्फेसमेत नेकपाकै पक्षको भएकोले तुम्बाहाम्फेलाई उपसभामुख पदबाट राजीनामा गराएर मन्त्रिमण्डलमा समावेश गरिने या अन्य कुनै महत्वपूर्ण जिम्मेवारी दिइने सम्भावना छ ।

प्रचण्ड र ओलीको प्राथमिकतामा को-को परेको छ ?

यी नामहरूमध्ये प्रचण्डले चाहेको पहिलो ब्यक्ति अग्नि सापकोटा हुन् । प्रधानमन्त्री केपी ओलीको रोजाइमा सुवास नेम्वाङ्ग परेको स्रोतको भनाइ छ ।
गृहमन्त्री रामबहादुर थापाले देव गुरुङ्गलाई सभामुख बनाउने पक्षमा देखिएका छन् । माधवकुमार नेपालले नाताले सम्धी पर्ने सोमप्रसाद पाण्डेलाई सभामुख बनाउन लागेका छन् ।
प्रचण्डको प्रथम प्राथमिकतामा अग्नि सापकोटा दोस्रोमा पम्फा भुषाल र तेस्रो प्राथमिकतामा मात्र देव गुरुङ भएको स्रोतले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।