भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आफ्नो कमाईको १० प्रतिशत रकम सामाजिक सेवामा खर्च गर्ने घोषणा गरेका छन् । मध्यपुर थिमी नगरापलिका वडा नंं. ८ खाँसी पोखरी परिसर उपभोक्ता समितीद्वारा आयोजित नेपाल सम्वत ११४०, दीपावली तथा छठ पर्वको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै सांसद बस्नेतले उक्त घोषणा गरेका हुन् ।
सांसद बस्नेतले आफ्नो व्यक्ति तर्फबाट खाँसी पोखरी पुनःनिर्माणको लागि रु. १ लाख सहयोग समेत गरेका छन् । सामाजिक सेवा नै मानिसको सवैभन्दा ठूलो धर्म भएको बताउँदै बस्नेतले समाजमा हुने र आवश्यक पर्ने सहयोग गर्नु मानिसको परम धर्म भएको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बस्नेतले क्षेत्र विकास कोषको तर्फबाट महालक्ष्मी भू–क्षय नियन्त्रणको व्यवस्थित गेट निर्माणको लागि रु ३० लाख र इ–लाईव्रेरीको लागि रु ३० लाख गरी ६० लाख उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरे ।
नीलवाराहीलाई इको पार्क वा जातीय संग्राहलय मध्ये कुनै एकको रुपमा विकास गर्ने योजना अनुरुप रु एक करोड ५० लाख रकम विनियाजन भएको जानकारी गराउँदै उनले सम्पदा वस्ती संरक्षण कार्यक्रम शुरु भएको जसको लागि १५ करोड रकम व्यवस्था भएको बताए ।
जनताले चासो दिएमा विकास निर्माणको लागि स्रोत तथा साधनको अभाव नहुने बताउँद बस्नेतले घलाते, गठ्ठाघर र बोडेको गरी ठूला तीन वटा पुलहरु टेण्डरको प्रकृयामा रहेको जानकारी गराउनुभयो । पेप्सीकोला–सल्लाघारीको बैकल्पीक सडकको रुपमा पेप्सीकोला–बोडे–स्वरस्वतीखेल–छालिङ हुँदै नगरकोटसम्म जाने सडक निर्माणको क्रममा रहेको जानकारी गराउँदै उनले विगत लामो समयदेखी भिमसेन चोकबाट बोडे आउने सडक अलपत्रमा परेको र स्थानीय जनता तथा जनप्रतिनिधिको दवापका कारण धेरै ठाउँमा सम्पन्न हुने क्रममा रहेको, लोगो गार्मेन हुँदै कृषि तालिम केन्द्र–बोडेसम्म आउने सडक आगामी दुई तीन महिनाभित्रमा निर्माण सम्पन्न हुने, निकोसेरा–नागवेलीहुँदै खस्र्याखुर्सुङ खोलासम्म, बोडेदेखी टिकिनी जाने सडकलगायतका सडकहरु तिव्र गतिका साथ निर्माणको चरणमा रहेको बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।