यस्ता रहेछन् सरकारले गोप्य राखिएको भनिएका निर्णयहरु काठमाडौं । सरकारले आइतबार बसेको मन्त्रीपरिषद् बैठक गोप्य राखेको भनि सर्वत्र चर्चाको विषय बन्यो । मन्त्रीपरिषद्को बैठकपछि सुचना तथा प्रविधि मन्त्री गोकुल बास्कोटासँग संचारकर्मीले निर्णयबारे जानकारी दिन आग्रह गरेपछि डिटेलमा जानकारी दिनका लागि फरक व्यवस्था गर्न लागिएको बताएका थिए । तर सरकारले औपचारिक रुपमा निर्णय सार्वजनिक नगरेपनि निर्णयहरु भने सार्वजनिक भएको छ । आईतबार बसेको मन्त्रीपरिषद्को बैठकले गरेको निर्णयहरु यस्ता रहेका छन्ः प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएका छन् । भण्डारी तत्कालीन नेकपा (एमाले) मेची काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष हुन् । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईलाई फिर्ता बोलाउने निर्णय । भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यलाई सिफारिस गरेको छ । आचार्य पूर्वकानुनमन्त्री एवं प्रवुद्ध समूहका सदस्य समेत हुन् । मलेसियाका लागि नेपाली राजदूतमा उदयराज पाण्डे र युएईका लागि नेपाली राजदूतमा कृष्ण ढकाल सिफारिस भएका छन् । पाण्डे यसअघि साउदी अरबका राजदूत थिए भने ढकाल परराष्ट्र मन्त्रालयकै सह–सचिव हुन् । नेपाल प्रहरीमा प्राविधिक तर्फबाट दुर्गा थापालाई एआइजी नियुक्त गर्ने निर्णय पनि गरेको छ। जेनेभास्थित विश्व व्यापार संगठन (डब्लुटिओ) का लागि नेपाली प्रतिनिधिमा दिपक धितालको समयावधि थप्ने निर्णय गरेको छ । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी ९नेकपा०का नेता राजन भट्टराई प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकार नियुक्त भएका छन् । भट्टराई माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि विदेश मामिला सल्लाहकार थिए । पूर्वसांसद समेत रहेका उनी नेपाल भारत प्रवुद्ध समूह (ईपीजी) का सदस्य समेत हुन् ।
संघीयता कार्यान्वयनसँगै चालू खर्च अत्यधिक बढिरहेका बेला सरकारले मन्त्री र सांसदहरुलाई पर्व सुविधामार्फत एक महिनाको तलब सुविधा बाँडेको छ ।
सरकारले मन्त्रीपरिषद्बबाट निर्णय गरेर राज्यलाई करोडौं भार पर्नेगरी पहिलोपटक यस्तो निर्णय गरेको हो । गएको भदौं ३१ मा बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीदेखि सांसदहरुलाई एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च उपलब्ध गराउने निर्णय कार्यान्वयनका लागि मुख्यसचिव लोकदर्शन रेग्मीले अर्थ सचिवलाई सम्बोधन गर्दै परिपत्र गरेसँगै सरकारको यो यो निर्णय बाहिर आएको हो ।
सरकारले गोप्य राख्न खोजेको उक्त निर्णयमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, संघीय संसद्का पदाधिकारीहरु तथा सदस्यहरुलाई एक महिनाको तलब बराबरको रकमबापत चाडपर्व खर्च उपलब्ध गराउने भनिएको छ । यो समाचार आजको कारोबार दैनिकमा निरु अर्यालले लेखेकी छिन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।