काठमाडौं । बलात्कार प्रयासको आरोपित निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारी वकिलको कार्यालयसमक्ष बयान दिँदै आफूमाथि लगाइएको आरोपमा सत्यता नरहेको बताएका छन् ।
अभियोगपत्रमा महराले सरकारी वकिलको कार्याल यसमक्ष दिएको बयानको लिखित विवरण उल्लेख छ । बयानमा उनले पीडित महिलालाई आफूले २०४७ सालदेखि नै चिन्दै आएको बताएका छन् । ‘२०४७ सालदेखि झण्डै चार वर्ष मेरो घरमा बसेकी हुँदा निजलाई मैले सोही समयदेखि चिन्छु,’ बयानमा उनले भनेका छन्, ‘उनी मेरो विद्यार्थीजस्तै हुन् । उनले अहिले पनि मलाई महरा सर भनी सम्बोधन गर्छिन् ।’
महराले आफू उनको अभिभावक भएको दावी पनि गरेका छन् । बयानमा उनले भनेका छन्, ‘विवाहमा म अभिभावकको भूमिकामा थिएँ ।’
आफ्नै घरमा पहिले बस्ने भएकाले बेलाबखत उनीसँग भेट भइरहने महराको भनाइ छ । ‘२०४८ सालमा म सांसदमा निर्वाचित भएपछि करिब ३ वर्ष भेट भएन । त्यसपछि ३ वर्ष अगाडि उनले ‘म अस्वस्थ छु’ भनी ‘आफूलाई संसद सचिवालयमा काजमा ल्याइदिनुप(यो’ भन्ने सन्दर्भमा आफूसँग भेट गरेको महराले जनाएका छन् ।
‘त्यसपछि पटक पटक निरन्तर उनको परिवार र मेरो परिवारबीच सँगै आउनेजाने, खाना खाने सन्दर्भमा भेट भइरहन्थ्यो,’ बयानमा महराले भनेका छन्, ‘त्यस अलावा साविकमा म सम्बद्ध पार्टीमा निजले आफ्नो र श्रीमानको सरुवाको लागि पटक पटक भन्ने सिलसिलामा भेट हुन्थ्यो ।’ सोही क्रममा गत असोज १२ गते करिब ३र४ बजे उनी सिंहदरवारस्थित आफ्नो अफिसमा आएको महराले उल्लेख गरेका छन् । ‘उनी मेरो अफिसमा आइ मेरो समायोजन मिलेन, आफ्नो समायोजन मिलाउन भनी मलाई पटक पटक अनुरोध गर्दै म अन्यायमा परेँ भनी आक्रोसपूर्ण रुपमा गुनासो गरेकी थिइन्,’ महराले सरकारी वकिलको कार्यालयमा दिएको बयान उद्धृत गर्दै अभियोगपत्रमा भनिएको छ, ‘मैले धेरै सम्झाएँ । समायोजनको प्रसंगबारे सम्बन्धित निकायलाई मैले भनिदिएको हुँ तर कम्प्युटर सेटिङले मिलाउने भएकाले अहिले सकिएन भन्नेकुरा उनलाई सुनाएको हुँ तर उनको आवेग र आक्रोस मत्थर भएन ।’
‘मैले सरकारले जहाँ खटाएको छ अहिले जानु, पछि काजमा मिलाउने कोशिस गर्नेछु भनी जवाफ दिएँ । उनलाई मेरो जवाफको चित्त बुझेको थिएन र आवेगकै अवस्थामा अफिसबाट फर्केकी थिइन्,’ बयानमा महराले भनेका छन्, ‘म पनि सभामुख निवासतर्फ लागेँ, प्रश्नमा सोधेजस्तो १८ः३० बजे म निवासमै पूर्व वनमन्त्री वकिल महमदसँग छलफलमा थिएँ । म र पीडितको त्यतिबेला फोन सम्पर्क भएको छैन ।’
उनले आफू रक्सीमा ‘हार्ड ड्रिङ्स’ सेवन नगर्ने जिकिरसमेत गरेका छन् । ‘कहिलेकाही औपचारिक समारोहहरुमा वाइन थोरैमात्रामा लिने गरेको छु,’ महराले बयानमा भनेका छन्, ‘करिब १२ वर्षदेखि यता बजारमा मैले रक्सी किनेको पनि छैन, बोकेर हिँड्ने प्रसंग नै भएन । त्यसैले रक्सी बोकेर आएको भन्ने कुरा विल्कुलै निराधार हो ।’
‘उक्त दिन दिउँसो उनीसँग भएको सम्वादमा उनी आक्रोसमा आएपछि उनको स्वास्थ्य प्रतिकुल हुने र विक्षिप्त अवस्थामा पुग्ने भन्ने कुरा मैले सुनेको थिएँ,’ उनले भनेका छन्, ‘केही समय अगाडि यस्तै घटनाक्रमले अति नै विक्षिप्त भई सिभिल अस्पतालमा उपचार गराएको कुरा पनि मैले उनको श्रीमानबाट थापा पाएको थिएँ । त्यतिबेला भने उनको श्रीमान काठमाडौं बाहिर भएको, मैले टेलिफोन गर्दा सम्पर्क हुन नसकेकोले एक पटक फेरि सम्झाउनु पर्छ भन्ने उद्देश्यले म निजी गाडीमा सुरक्षाकर्मीसहित अन्दाजी बेलुका ७ः०० बजेपछि उनको कोठा रहेको इलाकामा गएको हुँ र मैले उनलाई पटक पटक फोन गर्दा सम्पर्क हुन नसकेपछि म सोही गाडीमा फर्की निवासमा आएको हुँ ।’ रातोपाटीबाट ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।