काभ्रे । काँग्रेस कार्यकर्ताहरुद्वारा लुटपाट गरिएका जिल्लाको नमोबुद्ध नगरपालिका–३ वडा कार्यालयको सामानहरु अझै गायब अवस्थामा रहेको छ । बिहीबार काँग्रेस कार्यकर्ताहरुको एक हुलले वडा कार्यालयका सबै सामग्रीहरु गाडीमा हालेर लगेका थिए ।
वडा कार्यालय कहाँ राख्ने भन्ने विषयमा विवाद भएपछि काँग्रेस कार्यकर्ताहरुले वडा कार्यालयको सामग्रीहरु लुटेर लगेको वडा अध्यक्ष रामशरण हुमागाईंले बताए ।
लुटिएकोमध्ये तीन गाडीमा रहेको वडा कार्यालयको सामग्री प्रहरीले बिहीबार दिउँसो देउराली चोकमा नियन्त्रणमा लिए पनि केही महत्वपूर्ण सामग्रीहरु भने अझै गायब अवस्थामा रहेको वडा अध्यक्ष हुमागाईंले बताए । दैनिक रुपमा सेवाग्रहीलाई सेवा दिनुपर्नेमा अहिले सामग्रीहरु गायब पारेपछि सेवा समेत अबरुद्ध भएको हुमागाईंले बताए ।

वडा कार्यालयबाट सामग्री लुटेर ४ वटा गाडीमा हालेको तर ल्यापटप कम्प्युटरलगायत महत्वपूर्ण कागजात भने निजी कारमा अर्कै बाटो लगेकाले प्रहरीले फर्काउन सकेको थिएन । नमोबुद्ध नगरपालिका–३ कै विष्णु पौडेलको निजी कारमा लगेको ल्यापटप कम्प्युटर, तीन माइन्यूट बुक, नगद ३० हजार र केही रसिद प्याडहरु फिर्ता नभएको वडाध्यक्ष हुमागाईँले बताए ।
नेपाली कांग्रेस समर्थित भुपू सैनिक संघ काभ्रेका जिल्ला अध्यक्ष नमोबुद्ध नगरपालिका–३ दाहालटार निवासी इन्द्रप्रसाद दाहालको नेतृत्वमा करिब ३० जनाको समूहले भेँडाबरीस्थित वडा कार्यालयको डेक्सटप कम्प्युटर १ थान, ल्यापटप कम्प्युटर १ थान, दराज, सम्पूर्ण कागजपत्र (फाइल), कार्यालयका टेबुल–कुर्सी, कार्पेटलगायत सबै सामग्री लुटेर ३ वटा ट्रक र १ निजी कारमा वडा कार्यालयका समग्रीहरु लगेका थिए । सोही अवस्थामा ३ वटा ट्रक जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले दिउँसो १ बजे नियन्त्रणमा लिएको थियो ।
‘हामी पुग्नेबित्तिकै गाडी छाडेर सबै भागे, कसैलाई पनि नियन्त्रणमा लिन सकिएन, नियन्त्रित सामग्री सुरक्षित गरी कार्यालयमा फर्काइयो, कारमा लगेको सामग्री फेला पार्न सकिएन, कार्यालयसँग फिर्ता नभएको सामग्रीको सूची मागेका छौँ,’ प्रहरी उपरीक्षक जयराज सापकोटाले भने ।
वडा कार्यालयका लागि व्यवस्थित गरिएको जमीन नापजाँचसम्बन्धी काम गर्न वडाध्यक्ष हुमागाईँ नापी कार्यालय धुलिखेल गएको मौकामा बिहीबार बिहान ११ बजे नेपाली कांग्रेसका स्थानीय नेतारकार्यकर्ताले वडा सदस्य, वडा सचिव र वडाका एक कर्मचारीलाई बाहिर निकाली वडा कार्यालयका सम्पूर्ण सामग्री लुटेर लगेका थिए ।
केही समयदेखि वडा कार्यालय सार्ने विषयमा कांग्रेसका नेता कार्यकर्ताले आफूलाई दाहालचौरमा सार्नुपर्छ भन्दै दबाब दिँदै आएको वडाध्यक्ष हुमागाईँले बताए । उनका अनुसार अस्थायीरूपमा भेँडाबारीस्थित एक घरमा सञ्चालन गरिँदै आइएको वडा कार्यालय वडाको केन्द्र भाग पर्ने गरी देउरालीडाँडामा राख्ने निर्णय वडास्थित जनप्रतिनिधि तथा नगर कार्यपालिका समेतको बैठकले निर्णय गरिसकेको छ ।
भुपू सैनिक सङ्घका जिल्ला अध्यक्ष दाहालले बिहीबार आफूहरुले वडा कार्यालयको सामग्री निकालेर ल्याएको तर सबै सामग्री फिर्ता भइसकेको दाबी गरे । उनले वडा कार्यालयको सामग्री नगरपालिका कार्यालयमा बुझाउन लैजाँदा प्रहरीले हस्तक्षेप गरी फिर्ता गरेको बताए ।
नगरप्रमुख टङ्कप्रसाद शर्माले भने वडा कार्यालयका कुनै पनि सामग्री नगर कार्यालयमा नआएको बताए ।
वडाध्यक्ष हुमागाईँका अनुसार वडा कार्यालयको सामग्री लुट्ने तथा महत्वूर्ण सामग्री गायब बनाउनेविरुद्ध किटानी जाहेरीको प्रक्रियामा जाने तयारी भइरहेको छ ।

लौ भिडियो हेर्नुहोस्:

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।