काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक सम्पन्न भएको छ । बैठक सम्पन्न भएपनि बैठकले उप–निर्वाचनका उम्मेदवारको टुंगो लगाउन भने ससकेन।
प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘आज समय अभावका कारण उम्मेदवारको चयन हुन सकेन। भोलि पुनः बैठक बसेर उम्मेदवार छनोट हुनेछ।’
आजको बैठकले तल्ला कमिटिले पठाएका नामहरुको प्रारम्भिक अध्ययन मात्रै गरेको प्रवक्ता श्रेष्ठले जानकारी गराए। उनले भने, ‘कहीँबाट १ जनाको मात्रै सिफारिस परेको छ। कहीँ तीन जनाको सिफारिस आएको छ। केही ठाँउबाट त्यो भन्दा बढी पनि नाम आएको छ।’
बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाको पनि जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीको बोली उधृत गर्दै श्रेष्ठले भने,‘गम्भीर समस्या भएर सिकिस्त भएको होइन। चिकित्सकको परामर्श अनुरुप डायलाइसिस गरिएको हो।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















