काठमाडौं । नेपाल तामाङ घेदुङका पूर्व महासचिव एवं पत्रकार प्रतीक ङेसुर तामाङको ‘तामाङ भाषा र लिपि’ पुस्तक मंगलबार एक कार्यक्रमका बीच सार्वजनिक भएको छ । पूर्वकानुनमन्त्री तथा प्रतिनिधिसभा सांसद शेरबहादुर तामाङले पुस्तक सार्वजनिक गरेका हुन् ।
तामाङ समुदायमा लिपिसँग सम्बन्धित विवाद चलिरहेको सन्दर्भमा तामाङले उक्त पुस्तक ल्याएका छन् । पुस्तकमा तामाङ भाषा लेखनमा नेपाल तामाङ घेदुङ, अखिल भारतीय तामाङ बौद्ध संघलगायत संस्थाले प्रचलनमा ल्याएको ‘तामयिग’ तथा बौद्ध धर्म संस्कारमा प्रयोग हुने ‘सम्बोटा (उछेन)’ लिपिको प्रयोग कति व्यावहारिक छ भन्ने विषय समेटिएको छ । दुवै लिपिको प्रयोग गर्नेबारे वर्षौंदेखि चल्दैआएको विवाद अन्त्यका लागिसमेत पुस्तकमार्फत लेखकले सरोकारवालाई सुझाएका छन् ।
‘तामाङ समुदाय विगत २६ वर्षदेखि लिपिको विवादमा अल्झिरहेको छ,’ पुस्तक लोकार्पण समारोहमा लेखक तामाङले भने, ‘यही विवादका कारण विद्यालय तहका बालबालिकालाई अध्यापन गराउन आवश्यक पाठ्यपुस्तक तयार पार्न सकेका छैनौं । यसले तामाङ भाषाको संरक्षण र पुस्तान्तरण गर्ने कार्यमा ठूलो समस्या सिर्जना गरेको छ ।’
तामाङ भाषाको संरक्षणका लागि लिपिको विवाद तत्काल अन्त्य गर्नुपर्नेमा उनले जोड दिए। तामयिग र सम्बोटा (उछेन) लिपि दुवै पक्षकाले अ–आफ्नो अडान त्यागेर सहमतिमा अगाडि बढ्नुपर्ने उनको तर्क छ । तामाङ भाषाका लागि अनुकूल हुने लिपिको छनोट वा नयाँ लिपिको विकास गर्नुपर्ने लेखक तामाङले बताए ।
‘तामाङ भाषा अलग्गै भएकाले जुनसुकै लिपिमा लेखन अभ्यासमा जाँदा पनि सरल र मौलिक लेखनशैली हुनुपर्छ भन्ने मान्यतालाई विकास गरिनुपर्छ । उछेन लिपिलाई आधार मान्दैमा तिब्बती भाषाको व्याकरणलाई हुबहु अनुकरण गर्ने गराउने प्रवृत्तिले तामाङ भाषाको विकासमा सघाउ र्पुयाउँदैन । यति दुई कुरामा सहमति गरेर अगाडि बढेमा भाषाका लागि नयाँ फड्को हुनसक्छ ।’ पुस्तकको निष्कर्षमा उनले उल्लेख गरेका छन् ।
पूर्वमन्त्री तामाङले तामाङ भाषा आफैंमा समृद्ध भाषा भएको बताए । पछिल्लो समय भाषा पुस्तान्तरणको क्रम घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले यसले भाषा लोप हुने खतरा बढेको बताए । तामाङ भाषा संरक्षणका लागि विशेष योजना बनाएर अगाडि बढ्नुपर्नेमा पूर्वमन्त्री तामाङले जोड दिए ।
नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङले नेपाल र भारतका संस्थाले संयुक्त निर्णय गरेर तामयिक लिपि प्रचलनमा ल्याएको बताए । लेखकले पुस्तकमार्फत प्रस्तुत गरेको सुझाव सैद्धान्तिक रुपमा सकारात्मक भए पनि संस्थागत निर्णयबाट पछि हट्न सहज नहुने उनको तर्क छ । यद्यपि, घेदुङलाई अबको बाटो तय गर्न पुस्तकले सहज बनाइदिएको उनले बताए।
लेखकद्वय रवीन्द्र तामाङ र दुपवाङगेल मोक्तानले तामाङ समुदायमा वर्षौंदेखि रहेको लिपि विवाद अन्त्य गरी नयाँ सहमतिको मार्गमा लैजान पुस्तकले भूमिका खेल्नसक्ने बताए । तामाङ भाषाको संरक्षण र विकासका लागि पुस्तक महत्वपूर्ण हुने उनीहरूको भनाइ छ ।
पुस्तक तामाङ भाषा लिपि विकास केन्द्र ललितपुरले प्रकाशन गरेको हा े। यसअघि लेखक तामाङका ‘तामाङ–नेपाली पकेट शब्दकोश’, ‘रेडियोमा तामाङ भाषा’ र ‘मुगाल जनजातिः एक अध्ययन’ पुस्तक प्रकाशित भएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।