काठमाडौं । सवारी दुर्घटनाका कारण हरेक दिन सात जनाको अकालमा नै ज्यान जाने गरेको तथ्यांकले देखाएको छ। गएको पाँच वर्षमा सवारी दुर्घटनामा परी करिब १२ हजार यात्रुको अकालमा नै मृत्यु भएको तथ्यांकले देखाएको हो।
आर्थिक वर्ष २०७१र७२ देखि २०७५र७६ सम्मको दुर्घटनाको तथ्यांक हेर्दा हरेक वर्ष २ हजारभन्दा बढी यात्रुको सवारी दुर्घटनाकै कारण अकालमा ज्यान गएको र सो संख्या ५ वर्षमा करिब १२ हजार पुगेको पाइएको हो। जसअनुसार आर्थिक वर्ष २०७१र७२ मा २ हजार ४ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन्।
यस्तै २०७२र७३ मा २ हजार ६ जनाले ज्यान गुमाएका छन् भने २०७३र७४ मा २ हजार ३८४ जनाको सवारी दुर्घटनाका कारण ज्यान गएको छ। यसैगरी, आर्थिक वर्ष २०७४र७५ मा २ हजार ५४१ जनाले सवारी दुर्घटनाकै कारण ज्यान गुमाएका छन् भने गत आर्थिक वर्षमा मात्रै २ हजार ७८९ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाउनुपरेको छ भन्ने खबर राजधानी दैनिकमा छ। ५ वर्षको यस अवधिमा २१ हजार ५ जना गम्भीर घाइते भएका छन् भने ४३ हजार २३७ जना सामान्य घाइते भएका छन्।
नेपाल प्रहरीले तयार गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा भएका १३ हजार ३६६ सवारी दुर्घटनामध्ये चालकको लापर्बाहीबाट मात्रै ९ हजार ९१९ दुर्घटना भएको छ। यस्तै, तीव्र गतिका कारण गत वर्ष मात्रै २ हजार १७१ दुर्घटना भएका छन् भने मादक पदार्थ सेवनबाट ४१६ दुर्घटना भएका छन्।
गत आइतबार सिन्धुपाल्चोकको सुकुटेमा १९ जनाको ज्यान जानेगरी भएको दुर्घटनामा समेत चालकको लापर्बाही नै पहिलो कारण देखिएको छ। सो दुर्घटनामा क्षमताभन्दा बढी यात्रु राखेर सवारी चलाएका कारण भएको प्रहरीले भनेको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















