काठमाडौँ । एटीएम ह्याक प्रकरणमा पक्राउ गरेका ६ चिनियाँ नागरिक र ३ नेपाली पुर्पक्षका लागि जेल चलान भएका छन् ।
जिल्ला अदालत काठमाडौँको आदेशमा उनीहरु जेल चलान भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । पक्राउ परेका तीन नेपालीको हकमा धरौटी माग गरिएकोमा उनीहरु धरौटी बुझाउन नसकेपछि जेल चलान भएका हुन् ।
अदालतले मनी एक्सेन्जका सञ्चालक देवनाथ लामिछानेसँग तीस लाख धरौटी माग गरेको थियो भने अन्य दुई जनासँग जनही २५ लाख धरौटी माग गरेको थियो । चिनियाँ ह्याकरले बोकेको रकम साटेको आरोपमा उनीहरुलाई प्रहरीले भदौ १६ मा पक्राउ गरेको थियो ।
राजधानीको दरबारमार्गमा बैंकको एटीएम ह्याक गरी रकम चोरी गरिरहेको अभियोगमा चिनियाँहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।