पाल्पा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले लिपुलेक क्षेत्रको बारेमा सरकार चुप लागेर नबस्ने चेतावनी दिएका छन्। यो भूमिको रक्षाको निम्ति सरकार जस्तोसुकै कदम चाल्न तयार रहेको उनले बताए । स्याङजाको कालिगण्डकी गाउँपालिका–३ आलमदेवीमा आलमदेवी मन्दिर अंकित टिकटको विमोचन गर्दै उनले यस्तो बताएका हुन्।
राष्ट्रिय सर्वाभौममाथि कतैबाट आँच पुर्याउने काम नहुनेमा आफू विश्वस्त रहेको उनले बताए। यदि कतैबाट यस्तो गतिविधि भएमा सरकार र यहाँका नेपाली जनता चुप लागेर नबस्ने उनले सुनाए।
आकार वा प्रकार, सामर्थ्य आर्थिक तथा सामरिक सामार्थ्यको हिसाबले कुनै देश ठूला र साना भए पनि कुनै पनि देशको सार्वभौमसत्ता सानो र ठूलो हुनै नसक्ने मन्त्री बाँस्कोटाको भनाइ छ।
बेलाबेलामा आउने यस्ता झोक्काहरूबाट नतर्सिन उनले आग्रह गरे। सरकारले यथोचित कदम चाल्ने र त्यो कदम स्वाभाविक रुपमा कूटनीतिक र राजनीतिक तहबाट हुने उनले बताए। ’कसैले बलको तागत नदेखाए हुन्छ’ उनले भने, ’संसारमा क्षेप्यास्त्र बोकेर कसैले लडाइँ जितेको छैन।’ हामी हेर्न सक्छौ महाशक्ति राष्ट्रहरुले संचालन गरेका कैयौं युद्धह सफल भएका छैनन् त्यसैले आतिनु नपर्ने उनको भनाइ थियो।
’कालपानीको कुरा सुगौलीसन्धिको–५ मा कालिनदीको पश्चिमतिर नेपालका राजा वा उनका उत्तराधिकारीले कुनै पनि दखल दिनेछैनन्’ भन्ने उल्लेख भएको उनले सुनाए। ’भन्सारका अड्डामार्फत यस क्षेत्रमा राजस्व उठाएका छौँ, लिपुलेक क्षेत्रमा ५ हजार देखि ३६ हजारसम्म राजस्व पनि लिने गरेका छौं’ उनले थपे, ’यो सबैभन्दा ठूलो प्रमाण हो।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।