काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपालको कालापानी र लिपुलेक आफ्नो नयाँ नक्सामा समेटेपछिको परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् ।
प्रधानमन्त्री ओलीले शुक्रबार साँझ भारतले आफ्नो नक्सामा राखेको दार्चुलाको कालापानी र लिपुलेकबारे छलफल गर्नका लागि शनिबार ४ बजे सर्वदलीय बैठक आह्वान गरेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
’सीमाको बारेमा आएका विषयको पछिल्लो परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्रीज्यूले शनिबार दिउँसो ४ बजे सबै राजनीतिक दलका प्रमुखहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाउनुभएको छ ।’, अधिकारीले भने, ’पूर्वपरराष्ट्रमन्त्रीहरू पनि उक्त बैठकमा सहभागी हुनुहुनेछ ।’
भारतले कालापानीलाई आफ्नो नक्सामा समेटेपछि नेपालमा त्यसको व्यापक विरोध जारी छ । विभिन्न राजनीतिक दल, तिनका संगठन र सरकारले नै भारतीय कदमको विरोध गरेको छन् ।
भारतले केही दिन पहिले जारी गरेको राजनीतिक नक्सामा नेपालको भूभागलाई पनि आफ्नो बनाएको थियो।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।