काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको पालना गर्न सके धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता तथा सांस्कृतिक सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सक्ने विश्वास व्यक्त गर्नुभएको छ ।
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३५औँ जन्मजयन्तीका अवसरमा किरात धर्मावलम्बीहरूमा शुभकामना व्यक्त गर्दै उहाँले राष्ट्रिय गौरवका विभूतिको पवित्र जन्मजयन्तीको दिनमा हामी सबैमा धार्मिक सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।
त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले फाल्गुनन्द जयन्तीका अवसरमा शुभकामना दिँनुहुँदै फाल्गुनन्दका जीवनसँग गाँसिएका महŒवपूर्ण ठाउँहरूलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । उहाँद्वारा जारी सन्देशमा उल्लेख छ, “फाल्गुनन्दको जन्मभूमि चुक्चिनम्बा, ज्ञानभूमि फुलुङ्गी, कर्मभूमि सिलौती लोब्रे र तीर्थभूमि फक्ताक्लुङलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्छ । ” पूर्वी नेपालको इलाममा जन्मनुभएका फाल्गुनन्दले समाज सुधारका लागि ठूलो योगदान गर्नुभएको प्रधानमन्त्रीको भनाइ छ ।
“त्यस बेलाको किरात समुदायको सामाजिक सुधार अभियानका लागि उहाँले वि।सं। १९८८ वैशाखमा जारी गर्नुभएको सातबुँदे समाज सुधारको मुचुल्का आज पनि उत्तिकै सान्दर्भिक छ”, प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ, “सत्य, दया, शान्ति र अहिंसा सिद्धान्त बोकेका फाल्गुनन्दले विश्वशान्ति र मानव एकताका लागि दिनुभएको शिक्षा आज पनि मननीय छन् । ”
छोरासरह छोरीलाई पनि अंश दिनुपर्ने, विद्यालय स्थापना गर्नुपर्ने, हिंसारहित समाज निर्माण गर्नुपर्ने फाल्गुनन्दको अभियानले आज पनि समाजलाई सकारात्मक दिशामा अगाडि बढाउन प्रेरित गरेको प्रधानमन्त्रीले बताउनुभएको छ ।
फाल्गुनन्दको योगदानको कदर गर्दै अघिल्लो पटक आफू प्रधानमन्त्री भएका बेला फाल्गुनन्दको जन्मदिन कात्तिक २५ का दिन इलाम आसपासमा सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रधानमन्त्रीले विज्ञप्तिमा स्मरण गर्नुभएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















