काभ्रे । एक स्थानीय तहमा कम्तिमा १५ शैयाको अस्पताल बनाउने नेपाल सरकारको योजना अनुसार काभ्रेको चौंरीदेउराली गाउँपालिकामा अब अस्पताल बन्ने भएको छ । वडा नं. ५ मा बन्न लागेको उक्त अस्पतालको प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले आज (सोमबार) एक कार्यक्रमका बीच शिलान्यास गरेका छन् ।

प्रदेश सरकारले गत वर्षदेखि नै अस्पताल निर्माणको लागि योजना र बजेट निर्माण गरेपनि शुरु गर्न सकेको थिएन । यो आर्थिक वर्षमा काभ्रेको चौंरीदेउराली गाउँपालिकाबाट शूरुवात भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दुलालले चौंरीदेउराली गाउँपालिका र गाउँबासीलाई बधाई दिएका छन् । ‘अस्पताल निर्माणमा मुलुककै सबैभन्दा पहिलो स्थानीय तह बन्न चौंरीदेउराली सफल भएको छ । चौंरीदेउराली नेपालकै सबैभन्दा पहिलो अस्पताको शुरुवात गर्ने स्थानीय तहमा परेको छ ।’ उनले भने, ‘गाउँपालिका र गाउँबासीलाई बधाई दिन चाहन्छु ।’

स्वास्थ्य जनताको मौलिक हक भएकोले अस्पताल निर्माणमा प्रदेश सरकारले जोड दिँदै आएको मन्त्री दुलालले बताए । ‘हामीले गत साल नै अस्पताल निर्माणको योजना बनाएका थियौं । विविध कारणबस शुरुवात गर्न सकनौं ।’ उनले भने, ‘स्वस्थ रहन पाउने जनताको नैसर्गिक अधिकार भएकोले हामीले स्वास्थ्यमा विशेष जोड दिएका छौं ।’
एक विद्यालय एक नर्स कार्यक्रमले विद्यालयमा विद्यार्थी अनियमिततालाई हटाएको बताउँदै मन्त्री दुलालले यसको माग अझ बढेको जानकारी दिए ।
यसैबीच प्रदेश सांसद रत्न ढकालले वर्तमान सरकार र जनप्रतिनिधि जनताको आकांक्षा पूरा गर्न लागि परेको बताए । सांसद ढकालले जनप्रतिनिधि र सरकारलाई योजना र काममा खोज्न जनतासँग अनुरोध गरे । ‘अब यहाँको मुख्य बाटो पिच हुन शुरु भई नै सकेको छ, जनप्रतिनिधि र सरकार त्यहाँ भेट्टाउनुहुनेछ । भ्युटावर बन्दैछ, अस्पताल बन्न शूरु भयो अब । त्यहीं गएर खोज्नुहोस् जनप्रतिनिधि र सरकार ।’

चौंरीदेउरालीका जनता सामान्य रोग वा विरामी हुँदा समेत धुलिखेल दौडनुपर्ने बाध्यताको अब अन्त्य हुने सांसद ढकालले बताए । ‘अब अस्पताल यहीं बन्दै छ । २ वर्षमा यो अस्पताल बनिसक्ने छ ।’ उनले भने, ‘अब सामान्य विरामी हुँदा समेत धुलिखेल दौडनुपर्ने बाध्यताको अन्त्य हुँदैछ ।’
कार्यक्रममा गाउँपालिका अध्यक्ष दिननाथ गौतमले निर्माणको जिम्मा लिने निर्माण कम्पनीलाई संझौता अनुसार समयमै निर्माण कार्य सम्पन्न गर्न अनुरोध गरे ।

कार्यक्रममा वडा अध्यक्षहरु लगायतका जनप्रतिनिधिहरुको सहभागीता रहेका थिए ।
यस्तो बन्दै छ अस्पताल
चौंरीदेउराली गाउँपालिकाको अस्पताल १५ शैयाको बन्ने गाउँपालका अध्यक्ष दिननाथ गौतमले जानकारी दिए । गौत्मका अनुसार अस्पताल ५१ कोठे बन्ने छ ।

अस्पतालको निर्माणको लागि प्रदेश सरकारले ४ करोड ६६ लाख बजेट रकम विनियोजन गरेको छ । २ वर्षमा निर्माण सम्पन्न हुनुपर्ने उक्त अस्पताल निर्माणको जिम्मा धुलिखेल निर्माण सेवाले पाएको छ । करिब ७ करोडको लागतमा बन्ने उक्त अस्पतालको लागि चाहिने बाँकी रकम भने अर्को आर्थिक वर्षमा विनियोजन हुने बताइएको छ ।
यस्तो छ दरवन्दी
१५ शैयाको उक्त अस्पतामा दरबन्दी समेत पठाइसकेको छ । जस अनुसार एमबिबिएस डाक्ट १ जना, एच ए २ जना, स्टाफ नर्स ३ जना, अनमी २ जना, एएचडब्लु ३ जना, रेडिओ ग्राफर १ जना र ल्यब टेक्निसियन १ जना रहने छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















