काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालले भारतको नयाँ नक्सा अविलम्ब सच्याउन भारत सरकारलाई अनुरोध गरेको छ । मोर्चाका अध्यक्ष सूर्यमान दोङले (लालध्वज)ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नक्सा सच्याउने माग गरेका हुन् ।
लालध्वजद्वारा प्रेषित विज्ञप्ति यस्तो छः
भारतले गत हप्ता सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको सुदूरपश्चिम दार्चुला जिल्लाको भारतको सिमासंग जोडिएको महाकाली नदीको उद्गमस्थल लिम्पियाधुरादेखि लिपुलेकसम्मको (३७२ किलोमिटर) कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समाबेश गरेको समाचारप्रति हाम्रो पनि ध्यान आकर्षित भएको छ । यद्यपी भारतले विगत लामो समयदेखि नेपालको उल्लेखित क्षेत्रमा भारतीय सेना राख्ने तथा हस्तक्षेपकारी कार्य गर्दै आएको कुरा सर्वविदितै छ । यसबाट भारतको नियत त्यसैबेलादेखि नै प्रष्ट हुँदै आएको थियो । हामी भारतको यसखाले मिचाह एवं हेपाह प्रबृत्तिको घोर निन्दा गर्दछौं ।
नेपाल र भारतको सिमाना भनेको सन् १८१६ मा व्रिटिश, इण्डिया र नेपाल वीच भएको सुगौलि सन्धि अनुरुपको सिमाना हो । सो बमोजिम लिम्पियाधुरादेखि लिपुलेकसम्मको कालापानी क्षेत्र नेपालको हो भन्ने प्रष्टै छ । तर भारतले आफ्नो नक्सामा नै उक्त क्षेत्रलाई समाबेश गर्नु सिधै अन्तर्राष्टिय कानून र मान्यता विपरित हो र यो बल मिच्याई हो । हाम्रो मोर्चा यसको घोर निन्दा र विरोध गर्दछ र भारत सरकारलाई अविलम्ब नक्सा सच्याउन आग्रह गर्दछ ।
भूगोलको हिसावले नेपाल सानो होला तर देशको स्वतन्त्र सार्वभौमसत्ता र भौगोलिक अखण्डताको हिसावले नेपाल भारत समान छिमेकी देश हो । यो कुरा भारतले बिर्सनु हुँदैन । स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्टको भौगोलिक अखण्डता र स्वाधिनताको सम्मान गर्नु हरेक राष्टको कर्तव्य हो । भारतले बेला बेलामा सिमामा गरिरहेको मिचाहा र हेपाहा प्रबृत्तिबाट नेपाली जनतामा गहिरो चोट पुगेको छ । त्यसले हाम्रो मित्रतामा नै आँच पुगेको छ । स्वस्थ सम्बन्धबाट मात्र असल छिमेकी हुन सकिन्छ भन्ने कुरा भारतले सँधै हेक्का राख्नु जरुरी छ ।
साथै, नेपाल सरकारले उक्त सिमासम्बन्धी आफ्नो धारणा प्रष्ट पारेपनि सिमासम्बन्धी विवाद हल गर्न अविलम्ब कुटनैतिक प्रयास अघि बढाउन जरुरी छ । यसतर्फ नेपाल सरकार र राजनीतिक दलहरुले पनि आबश्यक पहलकदमी बढाउन हामी जोडदार माग गर्दछौं ।
भारत सरकारले अविलम्ब भारतको नक्साबाट कालापानी क्षेत्र नहटाएसम्म नेपाली जनताको खबरदारी र निगरानी जारी रहने कुरा पनि हामी यसै बक्तव्य मार्फत् प्रष्ट पार्न चाहान्छौं ।
…………………………….
सुर्यमान दोङ (तामाङ)
अध्यक्ष
केन्द्रीय कार्यालय, कोटश्वर, काठमाडौ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















