खगेन्द्र हमाल
सुर्खेत । कर्णाली प्रदेशबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)अहिलेसम्म जारी नहुँदा सेवाग्राहीहरुलाई धेरै सास्ती भोग्नु परेको छ । संघीयताले आँगनमै सेवा उपलब्ध हुने अपेक्षा गरेका कर्णालीबासीले अहिलेसम्म पनि लाइसेन्सका लागि छिमेकी प्रदेशमा धाउन बाध्य हुनु परेको छ ।
अघिल्लो वर्ष नै यो सेवाको सरुवात गर्ने घोषणा गरेको प्रदेश सरकारले हालसम्म आवश्यक प्रक्रिया अगाडि नबढाएकोले कर्णाली बासिले यो समस्या झेल्नु परेको हो ।
प्रदेश सरकारले यसबारे चासो नदिएकै कारण हाल कर्णालीबाट सवारी संचालनका लागि आवश्यक पर्ने नयाँ लाइसेन्स जारी हुन सकिरहेको छैन । यसबाट प्राप्त हुने करोडौं राजस्वसमेत कर्णाली सरकारले गुमाइरहेको छ । प्रदेश सरकारले कर्णालीबाटै लाइसेन्स वितरण गर्ने प्रतिवद्धता जनाए पनि अहिलेसम्म दक्ष जनशक्ति र भौतिक पुर्वाधार व्यवस्थापन गर्न सकिरहेको भने छैन । परिणाम सर्वसाधारणहरु लाइसेन्स लिनका लागि प्रदेश नम्बर ५ र अन्य जिल्ला जान बाध्य छन् ।
प्रदेश सरकारले लाइसेन्स वितरणका लागि हालसम्म आफ्नै ट्रायल सेन्टर निर्माणको योजनासमेत बनाएको छैन । प्रदेश सरकारका अधिकारीहरु नै तत्काल कर्णालीमा लाइसेन्स वितरण सम्भव नभएको बताउँछन् । आवश्यक प्राविधिक कर्मचारीको व्यवस्थापन गर्न समय लाग्ने भएकाले तत्कालै लाइसेन्स वितरणको काम सम्भव नभएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रामआधार साहले जानकारी दिए ।
सुर्खेतमा रहेको यातायात व्यवस्था कार्यालयबाट सवारी साधनको कर, रुटपरमिट, सवारी दर्ता, नवीकरण, नामसारी र सवारी जाँचपासको मात्र काम हुँदै आएको छ । नयाँ लाइसेन्स वितरण हुन नसक्दा सेवाग्राही मर्कामा परेका हुन् । प्राविधिकतर्फका कर्मचारीबिना नयाँ लाइसेन्स जारी गर्न नसकिने भन्दै मन्त्रालयले अब कर्मचारी व्यवस्थापन गर्न लागिरहेको जानकारी दिएको छ ।
यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख सुनिल लिम्बुले तत्काल लाइसेन्स वितरण गर्न सक्ने अवस्था नरहेको बताए । उनले भने, ‘हामीसँग कर्मचारी छैनज्, कर्मचारीबिना कसरी लाइसेन्स वितरण गर्ने ? हामीसँग आफ्नै ट्रायल सेन्टर र परीक्षा हल पनि छैन, त्यसको लागि आवश्यक पूर्वाधार नहुँदा पनि तत्काल यहाँबाट लाइसेन्स वितरण गर्न कठिन छ ।’
केही बर्ष पहिलेदेखी कर्णाली प्रदेश जुम्लामा रहेको यातायात व्यवस्था सेवा कार्यालयले मात्रै सवारी चालक अनुमति पत्र वितरण गर्दै आएको थियो । बाँकी नागरिकले नेपालगंज र अन्य जिल्लामा रहेका यातायात व्यवस्था कार्यालयबाट लाइसेन्स सम्बन्धी काम गर्नुपर्ने बाध्यता थियो । तर जुम्लामा पनि प्राविधिकतर्फका मेकानिकल सुपरभाइजर इन्जिनियर नहुँदा नयाँ लाइसेन्स वितरणको काम एक वर्षदेखि बन्द भएको छ ।
प्रदेश सरकारले प्राविधिक कर्मचारीको व्यवस्था गरिदिने र काम सुरु गर्ने भने पनि हालसम्म कुनै कर्मचारी नआएको यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका प्रमुख निरजंग शाहीले बताए । कर्मचारी अभावका कारण सेवा प्रवाह नै बन्द गर्नु परेको उनको भनाइ छ । लाइसेन्स वितरण बन्द भएपछि सेवाग्राहीलाई प्रदेश नम्बर ५ को नेपालगंज लगायतका स्थानमा पुग्नुपर्ने बाध्यता भएको हो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















