धुलिखेल । आगामी मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनका लागि काभ्रेको धुलिखेल नगरपालिका वडा नं. २ मा हुन लागेको निर्वाचनमा ४ जनाले उम्मेदवारी दर्ता गरेकाछन् । आज विभिन्न दलले आ–आफ्नो उम्मेदवारहरुलाई मनोनयन दर्ता गराएका हुन् ।
मनोनयन दर्ता गर्ने पार्टीहरुमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त रहेको छ । यसैबीच नेकपाले देव प्रसाद कोइराला, कांग्रेसले दर्ण बहादुर खत्री, राष्ट्रिय जनता पार्टी नेपालले कृष्ण बहादुर तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले वासु थापालाई अध्यक्षको उम्मेदवार बनाएको छ ।
उम्मेदवारी दर्ता गर्नका लागि नेकपाका प्रदेश कमिटि सदस्य तथा पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज), जिल्ला अध्यक्ष रुकु चौंलागाईं, जिल्ला सचिव टोकबहादुर वाईबा, प्रदेश सांसद लक्ष्मण लम्साल लगायतका नेताहरु, कार्यकर्ताहरु र जनता पुगेका थिए । त्यसैगरि नेपाली काँग्रेस पार्टीको तर्फबाट पनि केन्द्रिय सदस्य गणेश लामा, सभासद् तिर्थ लामा, पाँचखालका मेयर महेश खरेल लगायतका नेताहरु पुगेका थिए ।
नेकपाको जीत सुश्चित
तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष राजन कोइरालाको दुःखद निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।
गत स्थानीय निर्वाचनमा प्राप्त मत र पार्टी एकता दुवैलाई हेर्दा नेकपाका उम्मेदवारले स्वतः जित्ने छ । गत निर्वाचनमा यस वडामा १६४९ जना मतदाता थिए । निर्वाचनमा १४०२ मत खसेको थियो भने ५८ मत बदर भएको थियो ।
उक्त निर्वाचनमा तत्कालिन एमालेका उम्मेदवार कोइरालाले ८३६ मत र तत्कालिन माओवादी केन्द्रले २४८ मत प्राप्त गरेको थियो । त्यसैग िकांग्रेसले २६० मत मात्र प्राप्त गरेको थियो ।
पार्टी एकीकरणको मतलाई हेर्दा नेकपाले धेरै मतान्तरले निर्वाचनमा विजयी हुने पक्का छ । नेकपाको प्रतिस्पर्धी ठूलो मतान्तरण रहेको नेपाली काँग्रेस नै हो ।
आगामी मंसिर १४ मा हुने उप निर्वाचनका लागि वडा नम्वर २, रविमा १८७७ जना मतदाता छन् । जसमा पुरुष ९२८ र महिला ९४९ जना छन् । दुई वर्षमा उक्त वडामा २२८ जना नयाँ मतदाता थपिएका छन् । गत निर्वाचनमा दुई पार्टी एमाले र माओवादीले प्राप्त गरेको मत जोड्दा नेकपाको १ हजार ८४ मत हुन्छ । यहि मतलाई आधार मान्दा नेकपा र नेपाली कांग्रेसको मतान्तर ८२४ हुन्छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















