तेमाल । काभ्रेको तेमाल गाउँपालिकामा विकास योजना संझौता शुरु भएको छ । यसँगै तेमालमा आर्थिक वर्ष २०७६।०७७ को योजना कार्यन्वयनको ढोका खोलिएको छ ।
मंगलबारदेखि स्थानीय बस्तीस्तरबाटै उपभोक्ता अभिमुखिकरण तथा योजना सम्झौता थालिएको छ ।
गाउँपालिकामा उपभोक्ता समिति पुगेर संझौता गर्नुपर्ने झन्झटको पनि अन्त्य भएको छ । स्थानीय वडाध्यक्षको सहजिकरण र उपाध्यक्षको समन्वयमा गाउँपालिका केन्द्र नारायणस्थानमा योजना सम्झौता गर्दै आएको गाउँपालिकाले यस वर्षदेखी घेरदैलोमै गएर भेला तथा सम्झौता गर्न थालेको हो ।
यसैक्रममा वडा नं ६ ठूलो पर्सेलबाट योजना कार्यान्वयनका लागि अभिमुखिकरण तथा सम्झौताको शुरुवात गरेको उपाध्यक्ष दुर्गा माया तामाङले जानकारी दिए ।
‘स्थानीय जनतालाई सहज होस् भनेर योजना संझौताको लागि हामीहरु घरदैलोमै आएका हौं ।’ उपाध्यक्ष लामाले भने, ‘यसले विकास निर्माणका काम चुस्त, दुरुस्त र जिम्मेवारपूर्ण ढंगले कार्यन्वयन गर्न मद्दत पुग्ने विश्वास लिएकोछु ।’ गाउँपालिकाले उपभोक्ता भेला तथा योजना सम्झौतामा गरेको यसखाले सहजिकरणप्रति स्थानीय पनि खुसी देखिएका छन् ।
वडा नम्बर ६ ठूलो पर्सेलको उपभोक्ता अभिमुखिकरण तथा भेलालाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष तामाङले उपभोक्ताहरुलाई आवश्यक छलफलबाट योजना निर्माण गरी कार्यान्वयनसँगै फछ्र्यौटमा समेत ध्यान दिन आग्रह गरे ।
प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेलले टोल तथा बस्तीमा छुट्टाईएको बजेट सदुपयोग गर्दै दिगो विकासमार्फत यसबाट अधिकतम लाभ हाँसील गर्न कार्यन्वयन पूर्वदेखि नै वडाले यसखाले अभिमुखिकरण र सहजीकरण थाल्नुपर्ने धारणा राखे ।
अभिमुखिकरण तथा योजना सम्झौता कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङ, प्रमुख प्रशसकिया अधिकृत लक्ष्मण कुईकेल, वडाध्यक्ष विकु मोक्तान तामाङ, योजना शाखा प्रमुख राजकुमार तामाङ, प्राविधिक कपिल भण्डारी, लोना श्रेष्ठ, सरस्वती त्रिपाठी, वडा सचिव रामराज खरेल लगायतको टोली खटेका थिए ।
मङ्सिर २५ गतेभित्र यसखाले अभिमुखिकरण तथा वडा वडामै गएर योजना सम्झौताको प्रारम्भिक काम सकाउने गाउँपालिकाको योजना रहेको छ ।
वडाध्यक्ष विकु मोक्तान तामाङका अनुसार गाउँपालिकाको सल्लाह बमोजिम टोलीको सहजीकरणमा वडा नम्बर ६ ठूलो पर्सेलमा छनौट भएका योजनाहरुलाई अगाडि बढाउन उपभोक्ता समितिसँग सम्झौता प्रकृया अगाडि बढाइएको छ ।
यस आर्थिक वर्षका लागि वडाबाट २९ र गाउँपालिकाबाट ४ गरी जम्मा ३३ वटा योजनाहरु मध्ये पहिलो चरणमा ७ वटा योजनाको सझौता गरिएको उनले जानकारी दिए ।
वडामा यस आर्थिक वर्ष सडकका साथै, पानी, शिक्षा, स्वास्थ्य, दलित जनजाति, महिला, बालबालिका लगायतका क्षेत्रमा भौतिक र प्रवद्र्धनात्मक कार्यक्रमहरु गरिदैछ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















