अशोक बुद्ध लामा
काभ्रे । २८ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारी रोशी गाउँपालिकाले गाँउपालिका परिसरमा अपाङ्गता परिचय पत्र वितरण तथा नविकरण कार्यक्रम गरेको छ । गत कार्तिक २१ देखि मंसिर ३ गते सम्म भएको वडा स्तरीय अपाङ्गता परिचयपत्र वितरण शिविरमा छुटेका नागरिकहरुको मंगलबार रोशी गाउँपालिकाले पालिका स्तरीय अपाङ्गता परिचय पत्र वितरण गरिएको हो ।
“पहुँचयुक्त भविष्य बनाउँछौँ अवश्य, दिगो विकासको लक्ष्य अपाङ्ग मैत्री भविष्य” भन्ने मूल नाराका साथ संचालन गरिएको उक्त कार्यक्रम रोशी गाउँपालिकाको उपाध्यक्ष लक्ष्मी बर्तौलाको संयोजकत्वमा ४५ जनालाई परिचय पत्र वितरण गरिएको छ ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष लक्ष्मी कुमारी वर्तौलाले “हामीले वडा वडामा शिविर सञ्चालन गरेका थियौँ तर पनि विविध कारण वश र केही नागरिकहरु गाउँपालिका भन्दा टाढा बसेको हुनाले सो समयमा परिचय पत्र बनाउन छुटेका कारण हामीले अहिले पालिका स्तरीय अपांगता परिचय पत्र वितरण गरेका हौँ” उनले भने, “कोही नछुटुन र राज्यले प्रदान गरेका सेवा सुविधा सबैले प्राप्त गरुन् भन्ने उदेश्यले यो कार्यक्रम सञ्चालन गरेका हौँ ।”
त्यसै क्रममा प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालले शिविरको समयमा छुटेका अपांगता भएका नागरिकहरुले सहज रुपमा परिचय पत्र बनाउनको निम्ति पुनः गाउँपालिकामै वितरण गरिएको बताए । उनले धेरै नागरिकहरुको परिचय पत्र बनेको बताउदै आगामी दिनमा पनि मासिक रुपमा यस्तो कार्यक्रम सञ्चालन गर्ने साथै रोशी गाउँपालिकाको अपांगता भएका नागरिकहरुले सहजै परिचय पत्र प्राप्त गर्ने वातावरण निर्माण गर्ने कुरा कार्यक्रममा बताए ।
कार्यक्रममा रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी वर्तौला, प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहाल, प्रवक्ता पदम बहादुर लामा, रोशीका जनप्रतिनिधिहरु साथै समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















